राजनीति

विकास र समृद्धिको अभियानले गति नलिनुमा मुख्य राजनीतिक नेतृत्वको दृष्टिदोष : भट्टराई


काठमाडौँ — जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुख्य राजनीतिक नेतृत्वको दृष्टिदोषका कारण मुलुकमा विकास र समृद्धिको अभियानले गति लिन नसकेको बताए ।

अध्यक्ष भट्टराईले मुलुकमा विकास र समृद्धिको कामलाई गतिका साथ अघि बढाउन राजनीतिक नेतृत्वले विज्ञहरूको ज्ञान, सीप र अनुभवको सदुपयोग गर्नुपर्ने पनि स्पष्ट पारे।

राष्ट्रिय व्यापार संघले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले कृषि, उद्योग र सेवाका क्षेत्रको उचित सन्तुलन मिलाउने र छिमेकीहरूमा आएको परिवर्तनलाई आत्मासात गरेर राजनीतिक नेतृत्व अघि बढे मुलुकमा छिटोभन्दा छिटो विकास र समृद्धि हुने तर्क गरे।

अध्यक्ष भट्टराईले व्यूरोक्रेसीमा मुलुकलाई समृद्ध बनाउने जनशक्ति भएको उल्लेख गर्दै त्यसलाई परिचालन गरेर अघि बढन पनि राजनीतिक नेतृत्वले ध्यान दिनुपर्ने बताए।

उनले अर्थतन्त्रको विकासका लागि व्यवसायीहरूले पनि मुलुकलाई समृद्ध बनाउने अभियानमा जोड दिनुपर्ने खाँचो औंल्याए। अध्यक्ष भट्टराईले मुलुकबाट गरिबी निवारण नभई व्यापार व्यवसाय फष्टाउन नसक्नेतर्फ पनि उद्योगी, व्यवसायीहरूले ध्यान दिनुपर्ने बताए ।