बिजनेस

उच्च अंकले बढ्यो नेप्से, ७ अर्ब १० करोडको कारोबार


काठमाडौँ – साताको पहिलो कारोबारको दिन आइतबार नेपाल स्टक एक्चेञ्ज नेप्से परिसूचक उच्च अंकले बढेको छ ।

आज नेप्से परिसूचक ७३ दशमलव ०५ अंकले बढेर २ हजार ७ सय ६५ दशमलव ५१ अंकमा पुगेको छ । आज ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १३ दशमलव २१ अंकले बढेको छ । त्यस्तै आज कारोबार रकम पनि ७ अर्ब नाघेको छ । दिनभर भएका ८२ हजार ११३ कारोबारबाट २३९ कम्पनीका १ करोड ५० लाख ५८ हजार ६२१ कित्ता शेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ७ अर्ब १० करोड १८ लाख ३१ हजार ५ सय ९१ रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार आज नौं कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा हिमालयन उर्जा विकास कम्पनी, युनाईटेड हाइड्रोपावर, मध्यभोटेकोशी जलविद्युत कम्पनी, नेपाल हाइड्रो डेभलपर्श, आइसीएफसी फाइनान्स, न्यादि हाइड्रोपावर, प्रोगेसिभ फाइनान्स कम्पनी, हाइड्रो इलेक्ट्रोसिटी एण्ड डेभलपमेन्ट कम्पनी र कर्पोरेट डेभलपमेन्ट बैंक रहेका छन् । यी कम्पनीको शेयरमूल्य आज सर्किट लेभलमा बढेका छन् ।

त्यस्तै, आज धेरैजसो डिबेञ्चरको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ ।