राजनीति

अत्याधिक हिमपातले हिमाली जिल्लाको जनजीवन प्रभावित, हुम्लाको तापक्रम माइनस १२ भन्दा तल


काठमाडौँ – मौसम पूर्णरुपमा खुल्न अझै केही दिन लाग्ने मौसमविद्ले बताएका छन् । अहिले नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेकाले पूर्ण रुपमा मौसम खुल्न अझै केही दिन लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । यस्तै उच्च पहाडी र हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात हुनेछ । बाँकी प्रदेश–१, २ र वाग्मती प्रदेशमा भने सामान्यदेखि आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

हुस्सुले हिमाली जिल्लामा उडान प्रभावित हुँदै आएको छ । नेपालगञ्जमा बाक्लो हुस्सु लाग्ने गरेका कारण कर्णालीका हिमाली जिल्लामा केही दिनदेखि उडान प्रभावित भएको हो । नेपालगञ्ज विमानस्थलबाट मुगु र हुम्लासहित जुम्ला, डोल्पा र बाजुरामा उडान हुन सकेको छैन ।

हिमपात हुँदा हुम्ला सदरमुकाम सिमकोटमा एक फिट जमेको छ । स्थानीय बासिन्दालाई घरबाट बाहिर निस्कन समस्या भएको छ । अत्याधिक चिसो र हिमपात भइरहेका कारण सिमकोट सुनसान छ । यहाँको तापक्रम माइनस १२ भन्दा तल रहेको महाशाखाले जनाएको छ ।