राजनीति

बालकोट वार्ता : देउवासँग ओलीका कठिन माग, देउवाको मन फेरिएला कि प्रचण्ड-माधव फेरिएलान् ?(भिडियोसहित)


काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज एक घण्टा एक्लाएक्लै भेटवार्ता भयो ।भेट वर्तमान राजनीतिक समस्याका निवारणका लागि भनिएपनि देउवाकै उद्देश्य अनुसार वातावरण तयार भएको छैन ।

प्रधानमन्त्री शेरबहादुर देउवा जुन उद्देश्य बोकेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगे, त्यो उद्देश्यमाथि ओलीको पनि विमती रहेन । किनकि आफ्नै दैलोमा आफैँलाई मनाउन पुगेका देउवासँगको भेटपछि ओलीले कुरा राम्रै भएको भन्दै संवाद र सहकार्य थालनीकोसंकेत गरे ।

देउवा र ओलीबीच बालकोटमा करिब एक घण्टा वान टू वान वार्ता भएको थियो । वार्तामा देउवाले गत भदौ २३ देखि संसद्मा जारी एमालेको गतिरोध अन्त्य गर्न ओलीसँग आग्रह गरे । न्यायालयको विवादमा झिनो कुराकानी भएपनि मुख्य समय एमसीसीकै विषयमा खर्चिए । संसद्को अवरोध हटाउँदै एमसीसी पारित गर्न सहयोगको आग्रह गरेपछि एमाले अध्यक्ष ओलीले आफ्ना मुद्दाहरु तेस्र्याउने मौका पाए, जुन देउवा र गठबन्धनको भविष्य थप संकटमा पार्ने खालका छन् ।

बालकोट स्रोतका अनुसार प्रधानमन्त्री देउवासँग ओलीले भनिदिए तपाईँलाई सबै सहयोग गर्न तयार छु । तर यो अपवित्र गठबन्धन भत्काउन र १४ सांसदमाथिएमालेले गरेको कारबाहीलाई स्वीकार्न तपाई पनि तयार हुनुपर्छ । फलतः देउवा झनै फर्सादमा परेका छन्। ओलीका मागमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमालेबाट विभाजित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई समेत सहमतिमा ल्याउनु पर्ने हुनसक्छ ।

जुन सबैभन्दा चुनौतिपूर्ण छ ।गठबन्धन भत्काउन पाँच दलीय मोर्चाबाट पाखा लागेर राष्ट्रिय सभा निर्वाचनसम्मको सहकार्यलाई अन्त्य गर्नुपर्नेछ । १४ सांसदलाई गैरसांसद् मान्न तयार भए माधव नेपालसहित माओवादी केन्द्रकै अध्यक्ष प्रचण्डलिगबाट बाहिरीन सक्छन् । जुन तत्कालै देउवा–प्रचण्ड वा माधवले सोचिसकेका छैनन् ।

उसो त, देउवालाई ओलीसँग वार्ताको थालनी गर्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नै सुझाएका हुन् ।प्रचण्डले केहीदिन अघि देउवालाई तपाईँ र म नै बालकोट गएर संवाद गरौँ भनेका थिए । तर अहिले प्रचण्ड नै कोरोना संक्रमित बनेपछि केही समय गठबन्धनमा थप निर्णय नहुन सक्छ । देउवाले बुधबार काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई विशेष दूत बनाएर ओलीको राय बुझ्न बालकोट पठाए । भेटमा प्रधानमन्त्रीसँगै भेट्न ओली इच्छुक देखिएपछि उनले पनि भेटका लागि देउवालाई संयन्त्रको बैठकमै सिफारिस गरे । अब देउवा र ओलीबीच शनिबार भएको भेटले गतिरोध अन्त्यमात्रै गर्छ कि राजनीतिक कोर्ष नै फरक मोडतिर जान्छ? यो अहिलेको मुख्य प्रश्न बनेको छ ।