राजनीति

माधवले तथानाम गाली गर्दै भने – ओली बालकोटमा ‘भुक्दै हिडे’, देउवालाई मिलाउनै कठिन (भिडियोसहित)


काठमाडौँ — प्रमुख प्रतिपक्ष नेकपा एमाले र सत्ताघटक दुई दलकै मझधारमा प्रधानमन्त्री शेरबहादुर देउवा छन् । बाध्यताबश अवस्था कस्तो आएको छ भने, दुवैसँगको सहकार्य देउवालाई आवश्यक छ, र मिलाउनै पर्ने दबाब पनि । जुन असम्भवप्रायः छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा भेटवार्ता चलिरहेका बेला एमालेबाटै विभाजित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने काठमाडौं कै एक कार्यक्रममा आगो ओकिलिरहेका थिए ।

एमाले अध्यक्ष ओलीलाई देउवाले सहमतिमा ल्याउन खोजिरहेका बेला सत्ता गठबन्धनमै आवद्ध नेपालले प्रतिपक्षमा थन्किएका ओलीलाई तथानाम गालि गरे । उनले भने, बालुवाटारबाट निकालिएपछि पीडा खप्न नसकेर बालकोटमा भुक्दै हिडेका छन् ।
निकै तल्लोस्तरमा झरेर आवेग ओकलेका नेपालले शुक्रबार पनि उस्तै टिप्पनी गरेका थिए ।

ओलीको कडा आलोचना गर्दै नेता नेपालले कोही डाक्टर भए उपचार गरिदिन पनि सुझाव दिएका थिए । मुलतः एमाले विभाजनपछि उनीहरु झनै तथनाम गालिगलोजमा उत्रिएका छन् । मञ्च पाउने वित्तिकै एकले अर्काेलाई खेदिहाल्न पछि पर्दैनन् । माधव–प्रचण्ड एकातिर उभिँदा ओली अर्काेतिर उभिएर सत्तोसराप गर्छन ।

नदीका दुई किनारमध्ये एकतिर एमाले अध्यक्ष केपी शर्मा ओली छन् र अर्काेतिर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल छन् । दुई दिशामा उभिएर फरक गन्तव्य तय गरेका उनीहरुलाई चाहेर नचाहेर मिलाउनै पर्ने बाध्यतामा प्रधानमन्त्री शेरबहादुर देउवा छन् ।

संसद्को गतिरोध अन्त्यदेखि एमसीसीको निकासका लागि राष्ट्रिय सहमति आवश्यक छ । जसका लागि ओली, प्रचण्ड र माधवलाई एक ठाउँमा ल्याएर सरकार प्रमुख हुनुको कर्तव्य पुरा गर्नु प्रधानमन्त्री देउवाको दायित्व बनेको छ । यसकै लागि देउवाले शनिबार एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गरेर संवादको थालनी गरेका छन् । ओली, प्रचण्ड र माधवको रवैया हेर्दा यतिचाँडै सहमति जुटेर राष्ट्रिय मुद्दाले निकास पाउने सम्भावना भने देखिदैन ।