काठमाडौँ — कोरोनाको ओमिक्रोन भेरियन्टका कारण कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दो छ । छिमेकी मुलुक भारत आंशिक लकडाउनको अवस्थामा पुगेको छ । भारतसँगको खुल्ला सीमाका कारण नेपाल तेस्रो लहरको उच्च जोखिममा छ । कोरोनाको तेस्रो लहरसँग जुध्न नेपालले के गर्दै छ त ?
छिमेकी मुलुक भारतसँगै विश्व यति बेला कोरोना भाइरसको तेस्रो लहरसँग जुधिरहेको छ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनले विश्वभर छिट्टै र सहजै तेस्रो लहर ल्याइदियो । कोरोनाको तेस्रो लहरसँग जुध्न सिंगो विश्वले नै खोप अभियानलाई प्राथमिकता दिइरहेको छ । र पनि कोरोनाबाट आफ्ना नागरिकलाई जोगाउन हम्मेहम्मे परिरहेको छ । विश्वका ठुला शक्ति राष्ट्र अमेरिका, युरोप, अष्ट्रेलियका साथै छिमेकी मुलुक भारत समेत कोरोनाबाट भयवह अवस्थामा छ ।
भारतमा दैनिक झन्डै डेढ लाख कोरोना संक्रमित थपिन थालेका छन् । नयाँ दिल्ली, करनाटक लकडाउनमा छ । भारत प्रवेश गर्नेलाई ७ दिन अनिवार्य होम क्वारेन्टाइन लागु गरेको छ । पछिल्लो केहि दिन यता नेपालमा पनि कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । विज्ञहरु कोरोनालाई परास्त गर्ने एउटै विकल्प स्वास्थ्य सतर्कता भएको हुँदा यसमा सबैको ध्यानकर्षण हुन जरुरी रहेको बताउँछन । सरकारले खोप अभियानलाई तिव्रता दिनुपर्ने उनीहरुको जोड छ ।
विगत तीन दिनको तथ्याङकले संक्रमितको संख्या उच्च हुने संकेत देखाएको छ । विहिबार ४ सय ३५ नयाँ संक्रमित थपिएकोमा शुक्रबार कोरोनाको नयाँ संक्रमित ९ सय ६८ पुगेको छ । शनिबार ९ सय ४४ नयाँ कोरोना संक्रमित थपिएका छन् । हाल देशभर ६ हजार १ सय ४० सक्रिय संक्रमित छन । उपत्यका मात्र झन्डै ३ हजार कोरोनाका सक्रिय संक्रमित छन ।
स्वास्थ्य तथा जनसंख्य मन्त्रालयले नयाँ भेरियन्ट ओमिक्रोनका कारण नेपालमा पनि कोरोना भाइरसका संक्रमितहरु अत्याधि रुपमा बढ्न सक्ने भन्दै स्वास्थ्य सतर्कता अपनाउन अनुरोध गरेको छ । सरकारले नागरिकलाई सचेत गराउने देखि खोप अभियानमा समेत निरन्तर सक्रियताका साथ लागि परेको दावी गर्छन । महामारी नियन्त्रणमा सबै उत्तिकै जिम्मेवार हुनु पर्ने उनीहरुको तर्क छ ।
कोरोनाको जोखिम बढेपनि न त स्वास्थ्य मापदण्डका सवालमा सर्वसाधरण सचेत छन न त सरकारले खोप अभियानलाई नै प्रभावकारी बनाउन सकेका छन । राजनीतिक दल पार्टीको सभा सम्मेलनमा व्यस्त छन् । पहिलो र दोस्रो लहरमा पनि सीमा नाकाबाट कोरोना फैलिएको भएपनि यसपटक पनि सीमा नाकाको कडिकडाउ नारामुखी बनेको छ । यस्तो अवस्थामा कोरोना संक्रमण भयवह हुनबाट रोक्न सर्वसाधरण आफै सचेत बन्नुको विकल्प छैन ।
प्रतिक्रिया