राजनीति

ओलीलाई मनाउन प्रधानमन्त्री बालकोटमा


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्ष दलका नेता नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न आज बालकोट पुगेका छन् । संसद्मा लामो समयदेखि जारी अवरोध हटाउने पहलका लागि प्रधानमन्त्री देउवा ओली निवास बालकोट पुगेका हुन् ।

सत्ताधारी नेताहरुले संसद् अवरोध हटाउनका लागि अध्यक्ष ओलीलाई भेट्न सुझाएका थिए । बिहीबार बसेको पाँच दलीय गठबन्धनको बैठकमा देउवालाई यस्तो सुझाव दिएको हो ।

नेकपा एमालेले भदौ २३ गतेदेखि लगातार संसद् अवरोध गर्दै आएको छ । आफ्ना १४ सांसदलाई निष्कासनको कारबाही गरेर संसद्लाई जानकारी गराउँदा सभामुख अग्निप्रसाद सापकोटाले त्यसलाई मान्यता नदिएको भन्दै एमालेले भदौ २३ देखि लगातार संसद् अवरोध गर्दै आएको छ ।

सभामुखले कारबाहीलाई मान्यता नदिएर दल विभाजन गर्न सहयोग गरेको भन्दै एमालेले लगातार संसद अवरोध गर्दै आएको छ । तर, एमालेको विरोधका बाबजुद सभामुख सापकोटाले संसद बैठक सञ्चालन गरिरहेका छन् ।

एमालेले कारबाही गरेका माधवकुमार नेपालसहितका १४ सांसदले नेकपा एकीकृत समाजवादी गठन गरेका छन् ।