राजनीति

घुँडा टेकाउँदै ओली,देउवालाई बालकोट पठाउन गठबन्धन तयार


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता हुने भएको छ । संसद्को अवरोधदेखि राष्ट्रिय मुद्दामा सहमति खोज्न उनीहरुबीच भेटवार्ता हुने भएको हो । किनकि ओली र देउवा नमिले संकटकालकै अवस्था निम्तीने नेताहरु बताइरहेका छन् । नेकपा एमाले जस्तो सशक्त प्रतिपक्षको सत्तापक्ष बनेर काम गर्नु प्रधानमन्त्री शेरबहादुर देउवाका लागि चानचुने विषय होइन । फलतः प्रतिपक्षलाई रिझाउँदै, खुशी बनाउदै अघि बढ्नुपर्ने बाध्यकारी अवस्थामा देउवा छन् ।

प्रमुख प्रतिपक्ष एमाले सहमतिमा नआएकै संसद्देखि सरकारसम्म गतिरोध देखिएपछि अब भने प्रधानमन्त्री देउवा एमाले अध्यक्ष ओलीसँग वार्ता गर्न बालकोट जाने भएका हुन् । ओलीलाई सहमतिमा ल्याउन सरकार सञ्चालनका लागि बनेको पाँच दलीय संयन्त्रका संयोजक रामचन्द्र पौडेल बुधबार देउवाको विशेष दूत बनेर बालकोट हानिएका थिए । तर एमालेको सहयोग चाहिने भए गठबन्धन भत्काएर आउन ओलीले देउवालाई सन्देश पठाएपछि पौडेल फर्किए ।

भेटमा उनले माधव नेपालसहितका १४ सांसदको पद खारेज गर्नुपुर्ने पुरानै अडानसमेत दोहो¥याए । त्यही विषय बिहिबार संयन्त्रको बैठकमा पौडेलले विफ्रीङ गरेपछि गठबन्धनले शुक्रबार पुनः संयन्त्र बैठक बसेर एमालेसँग वार्ताका लागि देउवालाई तयार पारेको हो । अहिलेको अवस्थामा प्रधानमन्त्री देउवा र ओलीबीच सहमति हुन नसके देश संकटकालमा जाने प्रक्षेपण सत्तागठबन्धनकै नेताहरु गरिरहेका छन् ।

देउवा र ओली बीचको भेटवार्ता गठबन्धनका लागि सहज भने छैन । किनकि देउवालाई ओलीसँग वार्ता गर्न पठाए ओलीको अल्झनमा देउवा अल्झीएर गठबन्धनमै खटपट आउन सक्ने भयले नेताहरुलाई सताएको छ । देउवा अलि कतिमात्रै ओलीको प्रस्तावमा सकारात्मक हुने अवस्था आए एमसीसी लगायतका मुद्दामा उनीबीच सहमति जुट्नेछ । जुन गठबन्धनका अन्य दलका लागि सहज हुनेछैन् ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाकै बैठक नै राजनीतिक तरलताका कारण समयमा बस्न सकिरहेका छैनन् । तर ओली भने एमालेलाई घेराबन्दी गरिएको भन्दै कसैसँग सहकार्य आवश्यक नभएको दाबी गरिरहेका छन् । सत्तापक्षभन्दा सभामुखसँगको टकरावका कारण गत भदौ २३ देखि एमालेको संसद् अवरोध चलिरहेको छ ।

आफुले कारबाही गरेका सांसदको पद खारेज र सभामुखको कार्यशैलीमाथि प्रश्न उठाउँदै एमाले अवरोधमा छ । निकासका लागि सभामुख र प्रधानमन्त्रीले सर्वदलीय बैठक बसाए पनि एमाले संवादमा सहभागी छैन । प्रधानमन्त्री र सभामुखले ओलीसँग एक्लाएक्लै वार्ता गर्नुपर्ने एमालेको माग छ । सोही बमोजिम गठबन्धन आफुलाई तयार पारिरहेको छ ।