राजनीति

संक्रमण बढ्दै गए स्मार्ट लकडाउन हुन सक्ने


काठमाडौँ – कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को बैठकले तत्काल नाकालाई चुस्त बनाउने विषयमा छलफल गरेको छ । सिंहदरबारमा बसेको बैठकले भारतीय नाका हुँदै आउनेलाई स्थानीय तहको समन्वयमा होल्डिङ सेन्टरमा राख्ने तयारी भएको स्वास्थ्यमन्त्री विरोध खतिवडाले बताए ।

“नाकालाई कसरी चुस्त बनाउने भन्ने विषयमा छलफल भयो । प्रधानमन्त्रीबाट पनि निर्देशन आएको छ । भारतबाट आउनेलाई अहिले स्थानीय तहको समन्वयमा होल्डिङ सेन्टरमा राख्ने तयारी भएको छ,” मन्त्री खतिवडाले भने । उनले कोरोना संक्रमण बढेको अवस्थामा भने स्मार्ट लकडाउनसम्म जान सकिने जानकारी दिए ।

मन्त्री खतिवडाका अनुसार हालकै अवस्थामा भने त्यस्तो निर्णय गर्ने अवस्था नरहेको बताए । “निश्चित ठाउँमा हामीले केही कडाइ गर्न सक्छौँ,” उनले भने, “तर पहिलेजस्तो लकडाउन गर्ने अवस्था हुँदैन । भीड कम हुने क्षेत्रलाई पहिले कडाइ गर्नुपर्ने अवस्था आउन सक्छ ।”