राजनीति

एमाले र माओवादी हाम्रा शत्रु होइनन्: महामन्त्री थापा


काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमाले र माओवादीलगायतका अन्य दलहरु कांग्रेसको शत्रु नभएको बताएका छन् । उनले आफ्नो पार्टीको शत्रु भनेको गरिबी रहेको बताए ।

शुक्रबार गोरखामा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले भने, ‘एमाले र माओवादीलगायत दलहरू हाम्रा शत्रु होइनन्। शत्रु गरिबी हो,’ ।

उनले वैशाखमा स्थानीय तह निर्वाचन हुने भएकोले अहिलेदेखि नै तयारी गर्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरे । ‘तीन महिनापछि स्थानीय चुनाव हुन्छ। अब पहिलेजस्तो हुन्न, एक महिना पहिले नै उम्मेदवार तय हुन्छ,’ उनले भने, ‘ढिलो गरी उम्मेदवार तय गर्ने पहिलेको जस्तो यसपालि हुन्न। ढुक्क हुनुस् विधानले भनेअनुसार एक महिना अगाडि नै उम्मेदवार तय गरिन्छ।’

यो सरकार टिकाउन गठबन्धनको निरन्तरता आवश्यक रहेको बताएका छन् । आमचुनावसम्म यो गठबन्धनबाट नै सरकार निरन्तर रहने बताएका उनले चुनावमा भने पार्टीले आफ्नै उम्मेदवार तय गर्ने बताए।