राजनीति

राष्ट्रिय सभा निर्वाचन अघि नै ओलीले हार स्वीकारे: माधव नेपाल


काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा निर्वाचनमा हार स्वीकार गरिसकेको बताउनु भएको छ । पार्टीको काठमाडौं महानगर कमिटीले आज आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले राष्ट्रियसभाको निर्वाचनमा ओलीले हार स्विकार गरेको बताउनु भएको हो ।

एमाले अध्यक्ष ओलीले आजै पार्टीका जिल्लाहरुको अधिवेशन उद्घाटनका क्रममा ‘राष्ट्रियसभा निर्वाचनको परिणाम आफ्नो पार्टीका लागि प्रतिकूल आउन सक्ने’ बताउनु भएको थियो । सोही भनाईलाई उधृत गर्दै अध्यक्ष नेपालले ओलीले आफ्नो दम्भी स्वभाव विपरित राष्ट्रियसभाको निर्वाचनमा आफ्नो पार्टीको पराजय निश्चित् छ भनेर भाषणमै स्विकार गरेको टिप्पणी गर्नु भयो ।

अध्यक्ष नेपालले जनताको जीवन परिवर्तन गर्नका लागि आफ्नो पार्टी स्थापना गरेको बताउनु भयो ।