राजनीति

माघ ३ गतेसम्म तुलसीपुरका विद्यालय बन्द


काठमाडौँ – दाङको तुलसीपुर उपमहानगरपालिका भित्र पर्ने विद्यालय बन्द गरिएको छ । तुलसीपुर उपमहानगरपालिकामा आज शुक्रवार बसेको आकस्मिक बैठकले यही पुस २५ गते आइतवारदेखि माघ ३ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो ।

शिक्षक र विद्यार्थीमा कोरोनाको सङ्क्रमण तीव्र गतिमा सङ्क्रमण बढेपछि यसअघि नै मावि अश्वारा, गुरु जजुर मावि रक्षाचौर र मावि सेन्टर स्कुल तुलसीपुर बन्द भइसकेका छन् । गएको मङ्गलवार र विहीवार गरिएको परीक्षणमा तुलसीपुर क्षेत्रका सामुदायिक र संस्थागत विद्यालय गरी पाँच वटा विद्यालयका शिक्षक र विद्यार्थीमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

शिक्षा समितिका संयोजक कुमार लामिछानेको अध्यक्षतामा बसेको बैठकमा वतावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक नवराज लामिछाने, शिक्षा समितिका सदस्य श्याम डाँगी, जनस्वास्थ्य प्रर्वद्धन शाखा प्रमुख ओमपी न्यौपानेको सहभागिता थियो ।

यस्तै विपद् व्यवस्थापन शाखा प्रमुख टोपबहादुर डाँगी, विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक र प्रतिनिधिको सहभागिता रहेको थियो । तुलसीपुर क्षेत्रमा सामुदायिक ८३ र निजी विद्यालय ६८ वटा छन् ।