राजनीति

संसदलाई सुचारु गराउन पहल गर्ने उच्चस्तरीय राजनीतिक समन्वय समितिको निर्णय

ओलीलाई मनाउने जिम्मा देउवालाई


काठमाडौँ – सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले संसदलाई सुचारु गराउन पहल गर्ने निर्णय गरेको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थिति तथा समितिका संयोजक रामचन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले अवरुद्ध संसदलाई सुचारु गराउनका निम्ति पहल गर्ने निर्णय गरेको हो ।

बैठकको निर्णय बारे जानकारी गराउँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले संसद अवरुद्ध हुनु कुनैपनि हिसाबले उचित नभएको बताउनुभयो । संसद सुचारु गर्न सरकारको जति नै भुमिका र कर्तव्य प्रतिपक्षको पनि हुने उहाँले बताउनुभयो ।

संसद् सुचारु गर्नेबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग भेट्ने तयारी गर्नुभएको छ ।