राजनीति

माओवादीका नेता एमालेमा प्रवेश,प्रचण्डले कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्ने कसम खाएको ओलीको आरोप


काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अवस्था अबको केही समयपछि पेरुको साइनिङ पथको जस्तो हुने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । माओवादीका पूर्व सांसद तथा नेतााहरुलाई एमालेमा प्रवेश गराउँदै ओलीले कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्न प्रचण्ड कसम खाएर लागेको आरोप समेत लगाए ।

माओवादी केन्द्रीय कमिटीका पूर्व सदस्य तथा २०६४ सालको संविधानसभामा हुम्लाबाट प्रतिनिधित्व गर्ने सभासद् छिमी दोर्ची लामासहितका नेता कार्यकर्तालाई बुधबार बालकोटमा अध्यक्ष ओलीले एमालेमा स्वागत गरेका थिए । माओवादीको केन्द्रीय कमिटीमा नअटाएपछि असन्तुष्ट बनेका उनीहरु एमालेमा प्रवेश गरेका हुन् ।

ओलीले भने ‘प्रचण्ड समूह कम्युनिस्ट आन्दोलन समाप्त पार्न कसम खाएर लागेको छ । हेर्दै जानुहोला, त्यसको हालत कुनै बेलाको पेरुको साइनिङ पाथको जस्तो हुनेछ ।

एमाले प्रवेश गर्नेमा माओवादीका कर्णाली प्रदेश कमिटीका ६ जना सदस्य, जिल्ला कमिटीका ३७ जना सदस्य, जनसंगठनका ४ जना केन्द्रीय सदस्यलगायत रहेको बताइएको छ । उनीहरूलाई स्वागत गर्दै अध्यक्ष ओलीले एमाले रोजेर समयमै सही निर्णय गरेको भन्दै नवप्रवेशी नेताहरूलाई धन्यवाद दिएका थिए ।