राजनीति

बालुवाटारमा उच्चस्तरीय संयन्त्रको बैठक जारी


काठमाडौँ – कांग्रेस नेता रामचन्द्र पौडेल नेतृत्वको उच्चस्तरीय संयन्त्र को बैठक बालुवाटारमा जारी रहेको छ । बिहीबार बिहान नौ बजेदेखि सुरु भएको संयन्त्रको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमण, राष्ट्रिय सभा निर्वाचन, एमसीसी लगायतका विषयमा छलफल भएको बताइएको छ ।

बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभामा गर्दै आएको अवरोध अन्त्यका विषयमा पनि छलफल हुने बताइएको छ । त्यसै सन्दर्भमा पौडेलले बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए ।

सरकार सञ्चालनमा सहयोग गर्न गठित संयन्त्र समितिमा सत्तारुढ पाँच दलका शीर्ष नेताहरू सदस्य छन् । काँग्रेसबाट नेता पौडेल र कृष्णप्रसाद सिटौला, नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी र उपाध्यक्ष दुर्गा पौडेल छन् ।