राजनीति

देउवाले भुले जनतासँग गरेको प्रतिवद्धता


काठमाडौँ – सर्वाेच्च अदालतका परमादेशसँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएको साढे पाँच महिना वितिसक्यो । यसबीचमा सरकारले जनचाहनाबमोजिम कुनै काम गर्न सकेको छैन् । बरु यति बेला मन्त्रीहरु नै चुनाव केन्द्रीत बनेका छन् । यता सर्वसाधारण भने सरकारको काम देखेर आक्रोशित बनेका छन् । प्रधानमन्त्री भएपछि जनताको हितको लागि काम गर्छु भन्दै ओली सरकारलाई विस्तापन गर्न जनताको साथ चाहेका प्रधानमन्त्री शेरबहादुर देउवा नै यति बेला आलोचनाको शिकार भइरहेको छ ।

ओली नेतृत्वको सरकार आफ्नै पार्टीमा विवाद मिलाउन नसक्दा विवादै विवादमा फस्यो । आन्तरिक विवाद मिलाउन नसक्दा दुई दुईपटक संसद् विघटन गरेका ओली सर्वोच्चको परमादेशसँगै सरकारबाट विदा भए भने देउवालाई सत्तारोहणको मौका मिल्यो । तर, ओलीबाट भएका गल्ति सच्याउन त परकै कुरा जिम्मेवारी सम्हालेको साढे पाच महिना बित्दा पनि देउवा सरकारले सुखद नतिजा दिन सकेका छैनन । जनताका सामान्य आवश्यकतामाथि समेत खेलवाड भैरहेका छन् । बजारमा मंहगी बढेर छोइनसक्नु छ । बैदेशिक रोजगारको लागि दैनिक २५ सय भन्दा बढि युवा विदेशिन बाध्य भएका छन् ।

तर, पनि नेताहरुको ध्यान आफु कसरी शक्तिमै रहने भन्नेमै केन्द्रीत छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग आफ्नो पाँचौँ कार्यकालमा विगतका चार कार्यकालको धुमिल छविलाई पखाल्ने अवसर थियो । तर, देउवा यसमा पनि चुकेका छन् । विगतका सरकारले सुरु गरेका काम राजनीतिक प्रतिशोधकै आधारमा सरकारले अपनत्व लिएको छैन । राष्ट्रिय महत्वका विकासे आयोजनाहरु लथालिङग छन् । यसबीचमा जनताका समस्या बोल्ने संसद् सुचारु हुन सकेको छैन । सरकारको कामप्रति जनआक्रोस चुलिँदो छ ।

मन्त्रीहरु सरकारका कामभन्दा आगामी चुनावलाई केन्द्रीत बनाएर पार्टीका गतिविधिमा देशदौडाह गरिरहेका छन् । विगतको सरकारले नगरेको विकासको कामले गति लिने नागरिकको आशा थियो । तर आशामाथि कालो बादल मडारिन कति समय पनि लागेन । युवाहरुलाई रोजगारको व्यवस्था नगर्दा नेपालीहरु अर्काको देशमा पसिना बगाउन बाध्य भएको सर्वसाधारण बताउछन् । सरकारको साढे पाच महिनाको ताल हेर्दा राजाको काम, कहिले जाला घाम भने जस्तै भएको छ । सर्वसाधारणलाई मात्र होइन सरकारको काम सत्ताधारी नेतालाई पनि चित्त बुझेको छैन ।

विश्वभर कोरोना महामारीको तेस्रो लहर सुरु भैसकेको छ । अहिले भारतमा दिनप्रतिदिन ओमिक्रोन भेरियन्ट आगो सल्किए जस्तै सल्किन थालिसको छ । यसको प्रभाव नेपालमा पनि पर्ने निश्चित छ । यस्तो अवस्थामा सबै भन्दा उत्तम विकल्प भनेको नै खोप हो । तर, सरकारले नेपालमा खोप राम्रा व्यवस्था रहेको दावी गरे पनि तथ्याङकले त्यस्तो देखाउँदैन । यस्तो बेलामा नेताहरू भने आफ्नै स्वार्थपूर्तिमा लागिपरेका छन् । जसले गर्दा जनताको नजरमा सरकारको कद झनै ओरालो लागेको छ ।