राजनीति

लिङ्देनले मिश्र बोक्दा कमल थापाको नयाँ तयारी, राप्रपा फुटको टकराव


काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र विवेकशील साझा पार्टीबीचको एकता हुने विषय पछिल्लो समय चर्चामा छ । साना हैसियतका दल भएपनि नेतृत्व पंक्तिका अनेक क्रियाकलापले आम–जनमानसको ध्यान तानिएको छ । ठिक यसैबेला राप्रपाका पूर्वअध्यक्ष कमल थापाले पुस २७ मा नयाँ पार्टी दर्ता गर्न गृहकार्य चलाएका विषय बाहिरिएको छ ।

डेढ दशकबढी आफैले नेतृत्व गरेको पार्टीमा आफैले नेता बनाएका व्यक्तिले आफैलाई हराउने अवस्था आएपछि राप्रपाका पूर्वअध्यक्ष कमल थापा अहिले आफै रणभूल्लमा छन् । तर यतिबेलै थापाले नयाँ पार्टी दर्ताको गृहकार्य चलाइरहेको चर्चा एकाएक बाहिरिएको छ । जसलाई मद्दत पुग्ने गरि थापाले योहो टिभीसँगको अन्तरवार्तामा अभिव्यक्ति दिएपछि चर्चा यथार्थ नजिक देखिन्छ ।

अध्यक्षमा पराजित भएको केही दिनमै राजतन्त्रको मुद्दा त्याग्न सक्ने र नयाँ पार्टी बनाउने दिशामा अघि बढ्ने मनस्थितिमा देखिएका थापाले पुस २७ को पृथ्वी जयन्तीलाई साँची राखेर नयाँ थालनी गर्ने बताएका हुन् । थापाले नयाँ पार्टी दर्ताको संकेत गरिरहेका बेला राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन भने रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीसँग एकता गर्ने तयारीमा छन् । लिङ्देन र महामन्त्री धवलशमसेर राणा केहीदिन अघिमात्रै मिश्रको घरमै पुगेर राजाको शरणमा आउन प्रस्ताव गरेका थिए । जसमा मिश्रसमेत असहमत देखिएन् ।

तर पार्टी एकता जस्तो गम्भिर विषयमा समेत थापा र लिङ्देनबीच परामर्श भएन । केन्द्रीय सदस्य मनोनीत गर्दासमेत लिङ्देनले थापासँग परामर्श गरेनन् । फलतः अरुलाई राजावादीलाई पनि एक बनाएर ६ महिनाभित्र राजसंस्था पुनःस्थापनामा सहमति गर्ने उद्घोष गरेका लिङ्देन आफ्नै पार्टी जोगाउन सक्ने अवस्थामा छैनन् ।

कुनैबेला गीता छोएर पार्टी फुटाउदिन भनेका थापाको पदाधिकारी र केन्द्रीय कमिटीमा बहुमत छ । तर बहुमत हुँदाहुँदै पनि आफु हारेकै कारण पार्टी फुटाएर नेतृत्वमै रहने रहर थापामा देखिन्छ । वैकल्पिक भनिएका रवीन्द्र मिश्रहरुले राजा बोक्ने तयारी गरिसक्दा विगतदेखि नै राजाको बक्सिस खाँदै आएका थापाले राजतन्त्रको मुद्दा नै छाडेर फरक पार्टीको अभ्यासमा अघि बढ्दा उनी गणतन्त्रवादी बन्न खोजेका हुन् भन्ने प्रश्न पनि छ ।