राजनीति

नेता नै नमानेपछि शेखरको मोर्चाबन्दी सुरु, रामचन्द्र देउवाकै शरणमा


काठमाडौँ – पार्टी सभापति शेरबहादुर देउवाले आफुलाई शक्तिका रुपमा नजरअन्दाज गरेको भन्दै नेता शेखर कोइराला गुटगत मोर्चाबन्दीमा अघि बढेका छन् । पुरानै कार्यशैली दोहोरिएपछि देउवाविरुद्ध मोचाबन्दी नै गरेर शेखर कोइराला पक्ष अघि बढ्ने देखिएको छ । नेपाली काँग्रेसको १४ औं महाधिवेशन सकिए लगत्तै सभापतिमा पराजित शेखर कोइराला पक्षको एउटै संकल्प थियो, ‘अब पार्टीमा गुटको अन्त्य हुन्छ ।’

किनकि सभापति शेरबहादुर देउवासँग चालिस प्रतिशत बढी मत ल्याएर पराजित बनेका शेखरले यसअघि हुँदै आएको भागबण्डा आफुले नखोज्ने बरु पार्टीभित्रका संस्थागत गुटलाई अन्त्य गरेर अघि बढ्ने प्रतिवद्धता जनाएका थिए । तर त्यसको दुईसाता नबित्दै शेखर कोइराला पक्षले लगातार तीनदिनसम्म गुटगत छलफल चलाएको छ । जसका कारण हो, सभापतिको देउवाको एक्लौटी अभ्यास र शेखरको शक्तिमाथिको नजरअन्दाज ।

महाधिवेशनपछिको पहिलो बैठकमा सभापति देउवाले नेताहरुको वरियता निर्धारण गरेका थिए । जसमा सर्वाधिक दोस्रो मत ल्याएका शेखरलाई २० औं नम्बरमा थन्क्याइएको थियो । त्यतिबेलादेखि नै यो पक्षका नेताहरु रुष्ट बन्न थालिसकेका थिए । पार्टी सभापतिलाई ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्ने अधिकार विधानले सुरक्षित गरेको छ । चुनावी प्रतिस्पर्धा बाहिर रहेका रामचन्द्र पौडेललाई मनोनीत गरेका देउवाले अरु सबै आफैँलाई मत दिएका र विगतदेखि नै आफु निकट रहेकालाई ल्याए ।

बागमती प्रदेशमा मन्त्रीहरु छनोट गर्दा रामचन्द्र पौडल र प्रकाशमान सिंहलाई भाग दिए,शेखरसँग परामर्शसमेत गरेनन् । राष्ट्रिय सभाको बाँडफाँडमा पौडेल र कृष्णप्रसाद सिटौलासँग छलफल गरे देउवाले शेखरलाई सम्झिएनन् । अहिले शेखरलाई पन्छाएर महाधिवेशनको प्रक्रियाबाटै अलग्गीएका पौडेललाई स्पेस दिन खोजेको भन्दै नेताहरु असन्तुष्टि पोखिरहेका छन् ।

सभापति देउवाले आफुलाई नेता नै मान्न तयार नभएपछि शेखरले सोमबारदेखि लगातार आफु पक्षिय पदाधिकारी तथा केन्द्रीय सदस्यसँग छलफल गरेर मोर्चाबन्दी सुरु गरेका हुन् । पार्टीमा आफुलाई मत नदिनेको पनि सभापति हुने र सबैलाई समेट्ने उद्घोष गरेका देउवाले फेरि गुटलाई अगाडी बढाउन खोजेको भन्दै यो पक्ष देउवाविरुद्ध गुटगत छलफलमै अघि बढेको हो ।

यसअघि संस्थापनइतरको गुटमा क्रियाशिल रहेका रामचन्द्र पौडेल र शशांक कोइराला महाधिवेशनपछि देउवालाई समर्थन गरिरहेको निष्कर्ष शेखर समूहले निकालेको छ । इतर समूहबाट शेखर एक्लो नेता जस्तो देखिएका छन् भने पौडेल, शशांक र सिटौलासहितलाई बोकेर देउवा आगामी चुनावपछि संसदीय दलको नेता बन्ने स्वार्थ हेरिरहेका छन् । तर त्यतिबेलासम्म सन्तुलन मिलाएर जान देउवालाई चुनौती छ । र त्यसको प्रमुख बाधक शेखर नै हुनेछन् ।

यस्तो सभापतिमा पराजितलाई विधानले सुरक्षित नगरेको भए शेखरलाई देउवाले केन्द्रीय कमिटीमा समेत ल्याउने थिएनन् । तर शेखरकै टीमबाट महामन्त्री जितेका गगन थापा र देउवाविरुद्ध नै उभिएका विश्वप्रकाश शर्मा देउवाका गतिविधिमा बोलेका छैनन् । फलतः पुरानै नेतृत्व दोहोरिएको काँग्रेसमा पुरानै शैली र पुरानै हबिगतले निरन्तरता पाइरहेको छ । न रुपान्तरण न पुस्तान्तरण बरु देउवान्तरणमै पार्टी चलेको छ ।