राजनीति

शेखर कोइरालाले बोलाए आफू निकट नेताको भेला


काठमाडौँ — कांग्रेस नेता डाक्टर शेखर कोइरालाले आफूनिकट नेताहरूको छुट्टै भेला बोलाएका छन् ।

सभापतिमा शेरबहादुर देउवासँग पराजित कोइरालाले आफूनिकट नेताहरूसँग महाधिवेशन र त्यसपछिको राजनीतिका विषयमा छलफल गर्न भेला बोलाएका हुन् । भेला दिउँसो २ बजे सिंहदरबारअगाडि बसेरा होटलमा बैठक बस्ने नेता मधु आचार्यले जानकारी दिए ।

भेलाको तयारीस्वरुप कोइरालाले मंगलबार शीर्ष नेताहरूसँग छलफल गरेका थिए । कोइरालाले मंगलबार उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, उपसभापतिका उम्मेदवार चन्द्र भण्डारी, महामन्त्रीका उम्मेदवार मिनेन्द्र रिजाल, नेताहरू अर्जुननरसिंह केसी र बलबहादुर केसी लगायतसँग छलफल गरेका थिए ।

आज कोइराला पक्षबाट निर्वाचित सबै पदाधिकारी, पदाधिकारीका उम्मेदवार, केन्द्रीय सदस्यहरू र केन्द्रीय सदस्यका उम्मेदवारहरू सहितको भेला राखिएको हो ।

महाधिवेशनपछि सभापति शेरबहादुर देउवाले दुई बैठक गरेका छन् भने प्रदेश मन्त्रिपरिषद् विस्तार, राष्ट्रिय सभा सदस्य निर्वाचनमा टिकट वितरण र १३ जना केन्द्रीय सदस्य मनोनीत गरेका छन् ।

देउवाले १३ केन्द्रीय सदस्य मनोनीत गर्दा गुटलाई प्रश्रय दिएको आरोप लागेको छ। उनले कोइराला पक्षका नेतालाई प्राथमिकता दिएका छैनन् । आफ्नो प्यानलबाट पराजित उपसभापति, महामन्त्री र सह महामन्त्रीलाई देउवाले केन्द्रीय सदस्य मनोनीत गरे पनि डा कोइरालाको प्यानलबाट पराजितलाई मनोनीत नगरेका हुन् ।