राजनीति

राष्ट्रिय सभा बन्यो दलीय भागवण्डा र कार्यकर्ता व्यवस्थापन गर्ने थलो (भिडियोसहित)


काठमाडौँ — राष्ट्रिय सभामा रिक्त १९ सदस्यका लागि आगामी माघ १२ गते निर्वाचन हुँदैछ । मंगलबार उम्मेदवारी मनोनय दर्ता सम्पन्न भएको छ । प्रतिपक्ष दल एमाले र सत्तागठबन्धनबीचको प्रतिस्पर्धाले रोचक त बनाएकै छ, दलहरुले तय गरेका उम्मेदवारका कारण आलोचना पनि सुरु भएको छ ।

तल्लो सदन अर्थात् प्रतिनिधिसभा कानून निर्माण लगायतका दैनिक गतिविधिमा बढी केन्द्रित छ । त्यहाँ दलीय प्रभाव बढी हुनु स्वभाविक हो । तर राष्ट्रिय सभालाई परिपक्वहरूको सभा मानिन्छ । पुनर्विचार गरेर निर्णय लिनु नै यसको विशेषता हो । तर दलहरुको राजनीतिक अपरिपक्वता र दलगत राजनीतिका कारण राष्ट्रिय सभा विगत देखि नै चोखो छैन ।

दिग्गज र राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान पु¥याएका र ख्याती कमाएका प्रतिभाहरुको उपस्थिति सहित सदनको गरिमा उच्च राख्न तथा राष्ट्रिय सभाको उम्मेदवार चयनमा सावधानी अपनाउन दलहरु चुकेका छन् । संसदीय व्यवस्थाको गहना राष्ट्रिय सभा जस्तो वैचारिक थलोको उम्मेदवार चयनमा दलीय भागवण्डा र कार्यकर्ताको व्यवस्थापन गर्ने प्रवृत्ति हावी हुँदा आलोचनाको सिकार बनेको छ ।

राजनीतिक दलहरु राष्ट्रिय सभाको गरीमा उच्च बनाउन भन्दा कसरी धेरै सिट कब्जा गर्ने भन्नेमा केन्द्रीत देखिन्छन् । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रमुख प्रतिपक्ष एमाले विरुद्ध सत्ता गठबन्धन साझा उम्मेदवार नै तय गरेर निर्वाचनको परिणाम आफनो पक्षमा पार्ने रणनीतिमा छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र जनमोर्चा एकजुट भएका हुन् ।

सत्ता गठबन्धनबाट उम्मेदवार बनेका उम्मेदवारहरु मत भारका आधारमा आफू निर्वाचित हुने कुरामा विस्वस्त छन । संघीयताको सफल कार्यान्वयन अहिलेको आवश्यकता रहेको र यसमा आफुहरु खरो रुपमा प्रस्तुत हुने उनीहरुको भनाई छ ।

सत्तारुढ दल नेपाली कांग्रेस आफैले पार्टीको महाधिवेशनमा हार वेहोरेका नेताहरु राष्ट्रिय सभाको उम्मेदवार बनाएको छ । अधिकांश दलहरुको अवस्था उस्तै छ । पार्टीभित्रै प्रभाव जमाउन असफल नेताहरु उम्मेदवारमा उठाएका छन । यसले राष्ट्रिय सभाको गरिमा नै स्खलन हुने देखिन्छ ।