राजनीति

उखुको मूल्य निर्धारण गर्न किन आलटाल ? (भिडियोसहित)


काठमाडौँ — सर्लाहीमा मूल्य निर्धारण नहुँदै किसानहरुले धमाधम उखु काट्न थालेका छन् । नगदे बाली भनिएको उखु नै उधारोमा कारोबार भइरहको उखु किसानहरुको गुनासो छ । हिउँदे बाली लगाउन ढिलो भइसकेको भन्दै किसानहरु मूल्य निर्धारण नहुँदै उखु काटेका हुन् ।

उखुको मुल्य निर्धारण हुन बाँकी नै छ, तर पनि सर्लाहीका किसानहरु खेतमा भएको उखु हटाएर हिउँदे बाली लगाउन ढिलो भइसकेको भन्दै मूल्य निर्धारण नहुँदै धमाधम उखु काट्न थालेका छन् । उखुको मूल्य निर्धारण गर्न केही दिनअघि काठमाण्डौमा सरकार, उद्योगी र उखु किसानहरु बीच भएको त्रिपक्षीय छलफल विना निष्कर्ष टुङ्गेपछि अहिलेसम्म उखुको मूल्य निर्धारण हुन नसकेको नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले बताएका छन् । किसानले यस सिजनका लागि उखुको मूल्य न्यूनतम प्रति–क्विन्टल ६ सय ८० रुपैयाँ पाउनुपर्ने भए पनि तत्कालका लागि ६ सय ४० रुपैयाँ मूल्य कायम गरेर उद्योग संचालन गर्न सुझाव दिइएको अध्यक्ष मैनालीले बताए ।

उद्योगीले भने सरकारले पछि निर्धारण गरेको मूल्यमा उखु किसानलाई भुक्तानी गर्ने गरी उखु खरिद गरिरहेको छ । उखुको मूल्यमा सहमति जुट्न नसके पनि सर्लाहीको हरिवन स्थित इन्दु शंकर चिनी उद्योगले उखु क्रसिङ सुरु गरी किसानलाई उखु ल्याउने चलान पुर्जी वितरण गर्न थालिसकेको छ । किसानहरु उखुको मूल्य निर्धारण हुनु अगावै उद्योगलाई उधारोमा उखु बिक्री गरिरहेकाले पछि भुक्तानीमा समस्या पर्ने अध्यक्ष मैनालीले बताए । पुसको आधा महिना बितिसकेको र अधिकांश किसानको उखु खेतमै सुक्ने अवस्था आएको र उखु बाली हटाएर हिउँदे बाली समेत लगाउने बेला भइसकेकोले मुल्य निर्धारण हुनु अगावै बाध्य भएर किसानहरु आआफ्नो उखु काटेर उधारोमै भएपनि धमाधम मिलमा पठाउन थालेका छन् ।

गएको वर्ष सरकारले उखुको प्रति–क्विन्टल मूल्य ५ सय ३६ रुपैयाँ ५६ पैसा कायम गरेको थियो । त्यसमा उद्योगीले चार सय ७१ रुपैयाँ २८ पैसा र सरकारले उखु किसानलाई अनुदान स्वरूप ६५ रुपैयाँ २८ पैसा भुक्तानी गरेको थियो । उखुको लागत मूल्य बढेकाले यस वर्ष उखुको मूल्य प्रतिक्विन्टल ६ सय ८० रुपैयाँ पु¥याउनुपर्ने किसानको माग छ ।

सर्लाहीमा रहेका ३ वटा चिनी उद्योगहरु मध्ये हाल हरिवन नगरपालिका स्थित इन्दुशंकर चिनी उद्योग संचालनमा रहेको छ भने गोडैता नगरपालिकाको बगदहस्थित महालक्ष्मी सुगर मिल पनि संचालनको अन्तिम तयारीमा रहेको बताइएको छ । किसानहरुले बिक्री गरेको उखुको भुक्तानी लामो समयदेखि रोकेर राखेका कारण किसानहरूले उखु दिन छाडेपछि अन्नपूर्ण सुगर मिल २ क्रसिंङ सिजनभन्दा बढी समयदेखि बन्द रहेको छ ।

विगत लामो समयदेखि उद्योगलाई उखु बिक्री गरे वापतको भुक्तानी नपाउँदा आर्थिक समस्या झेल्दै आएका त्यस क्षेत्रका किसानहरु उखु खेती छाडेर व्यवसायीक तरकारी खेती सुरु गरेका छन् । उधारोमा उखु बिक्री गरेर भुक्तानीको लागि उद्योगीको मुख ताक्नु र भुक्तानी नपाएपछि घरपरिवार छाडेर घरिघरी आन्दोलन गर्नु भन्दा व्यवसायीक तरकारी खेती गरेर नगदी व्यापार गर्नु राम्रो भएको र यसबाट आफुहरु सन्तुष्ट रहेको उनीहरुको भनाइ छ । उद्योगपति र सरकार दुवैपक्षले वर्षौंसम्म उखुको भुक्तानी उपलब्ध नगराउने प्रवृत्तिले गर्दा नगदे बाली भनिएको उखु खेती उधारो हुँदै ऋणे बालीको रुपमा परिणत भइरहको उखु किसानहरुले गुनासो गरेका छन् ।