राजनीति

राष्ट्रियसभा निर्वाचन : प्रदेश-१ मा राप्रपाले गरायो उम्मेदवारी दर्ता


काठमाडौँ — राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेश १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि उम्मेदवारी मनोनयन दर्ता गराएको छ ।

राष्ट्रियसभामा प्रदेश १ बाट रिक्त ३ मध्ये खुला र महिला कोटामा राप्रपाले मनोनयन दर्ता गराएको हो । राप्रपाबाट खुलातर्फको सदस्यमा झापाका अम्मरबहादुर विष्ट र महिला कोटामा रञ्जु प्याकुरेलले उम्मेदवारी दिएका छन् । राप्रपाले उम्मेदवारी दर्ता गरेपछि प्रदेश १ मा राष्ट्रियसभा सदस्यमा उम्मेदवारी दिनेको संख्या ८ पुगेको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश १ मा राप्रपाका एक जना प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख चार जना गरी पाँच जना मतदाता छन् । उनीहरुको मतभार १२० छ । एमाले नेताहरूले सहकार्य गरेर अघि बढ्ने बताइरहदा राप्रपाले पनि उम्मेदवारी दिएको हो ।

एमालेलबाट खुलातर्फ गुरु बराल, महिलातर्फ सुमित्रा भण्डारी र अल्पसंख्यक कोटामा सोनाम ग्याल्जेन शेर्पाले उम्मेदवारी दर्ता गरेका छन् । सत्तापक्षीय गठबन्धनको तर्फबाट खुलातर्फ काँग्रेसका गोपाल बस्नेत, महिलातर्फ नेकपा एकीकृत समाजवादीकी नेतृ जयन्ती राई र अल्पसङ्ख्यक वा अपांग कोटामा जसपा केन्दीय सदस्य हेमराज राईले उम्मेदवारी दर्ता गरेका हुन् ।