राजनीति

सरकार गठनको पाँच महिना नाघ्दासमेत एउटै भएन उपलब्धि मुलक काम, महंगीले जनताको ढाँड सेकिँदै (भिडियोसहित)


काठमाडौँ – सरकार गठन भएको साढे पाँच महिनाको अवधिमा देखाउन लायक काम सरकारबाट एउटै भएको छैन । बरु दलगत दौडधुपमा केन्द्रीत बनेका मन्त्रीहरु सरकारका काम लथालिङग पारेर चुनाव केन्द्रीत बनेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारमा मन्त्रीहरु त छन्, तर कहाँ छन् अत्तोपत्तो छैन् । कुनैबेला केपी ओली र उनको सरकारका विरुद्ध कफन बाँधेर सडकमा निस्काएका रामकुमारी झाँक्रीजस्ता नेताहरु मन्त्री भएपछि गुमनाम छन् । बरु कहिलेकाहीँ झुल्किन्छन्, त्यो पनि आँखाभरि आँशु बनाएर ।

पहिले हात डो¥याएर निर्वाचन आयोगको ढोकासम्म नेतृत्वलाई पु¥याएका झाँक्रीहरु अहिले जनताको पीर भन्दा पुरानै घरको मायाले रोइरहेका छन् । विगतको कार्यकालमा कुलमान जस्ता केही कर्मचारीको कुशल व्यवस्थापनले लोडसेडिङ अन्त्य भएपछि त्यसकै जस खाएर फेरि मन्त्री हुने सौभाग्य पाएका जनार्दन शर्माहरु कताको लाज छोपौं भन्ने गरि नाङगीएका छन् । किनकि ७० बर्षे बजेट निर्माणको इतिहासमा शर्माकै पालोमा देश आर्थिक सटडाउनमा गयो भने, अर्थमन्त्रालय सबैभन्दा धेरै धरासायी बनेको छ ।

सडकमा हुँकार लगाउने उनीहरु मन्त्रालयको तालाचाँबी पाउँदासमेत कौडीको उपलब्धी देखाउन सकिरहेका छैनन्, र प्रतिपक्षको हाँसोको पात्र बनेका छन् । प्रधानमन्त्री देउवाले नारायण खड्का जस्ता डाक्टरधारी विद्धानलाई समेत मन्त्रिपरिषद्को हिस्सा बनाएका छन् । तर उनीहरु भन्दा कुनैबेला रुखले कार्वाेन्डाइक्साइड दिन्छ भन्ने अल्पज्ञानी प्रेम आलेहरुकै कार्यसम्पादन उत्कृष्ट देखिएको छ । वैदेशिक रोजगारीका समस्याहरु ज्यूँ का त्यूँ छन् ।

राष्ट्रिय महत्वका विकासे आयोजनाहरु लथालिङग छन् । मेडिकल शिक्षामाथिको चरम भ्रष्टिकरणले दलालहरु मोटाएका छन् । जनताका समस्याको हल खोज्ने र जनआवाज बोल्ने संसद् अस्तव्यस्त छ । सरकारलाई सही दिशामा डो¥याउन हस्तक्षेप गर्न सक्ने संसदीय समितिआफै दिशाविहिन छन् । क्रिकेट जस्ता खेलमा चलखेल हुँदासम्म मन्त्रीले माखो मार्न नसकेर आफ्नै निरीहता प्रदर्शन गरिरहेका छन् । शिक्षा, स्वास्थ्य र खानेपानी जस्ता आधारभूत आवश्यकतामा मुलुक ढुंगे युगकै गतिमा छ ।

विगतका सरकारले सुरु गरेका काम राजनीतिक प्रतिशोधकै आधारमा सरकारले अपनत्व लिएको छैन । सुरु भएका योजनाहरुसमेत अलपत्र छन् । न्यायापालिका जस्तो निकायमा न्यायविपरितका काम हुँदासमेत सरकारको पहल छैन । राष्ट्रियतामाथि प्रश्न उठाउने एमसीसी जस्ता सम्झौतामा सरकारको लाचारीपनले हद पार गरेको छ । कालापानी लिपुलेक जस्ता आफ्नै भूमिमा विदेशीले परेड खेल्दा सरकार ताल मिलाइरहेको छ । सत्तापक्ष नै सत्ताको कामबाट सन्तुष्ट छैन ।

ओली नेतृत्वको सरकार असफल भएकै कारण देउवालाई सत्तारोहणको मौका मिलेको हो । ओलीबाट भएका गल्ती सच्याउन त उनी असफल भएनै, जनताका सामान्य आवश्यकतामाथि खेलवाड गरिरहेका छन् । मंहगी बढेर छोइनसक्नु भएको छ । तर प्रधानमन्त्री, ओलीलाई सत्ताबाट हटाएर जनताले मुक्ति पाएको भन्दै हर्ष बढाईमै रमाइरहेका छन् ।मन्त्रालयमा खोज्दा मन्त्रीहरु भेटिदैनन् । सेवाग्राहीको भिडले कार्यकक्ष भरिभराउ छन् । मन्त्रीहरु सरकारका कामभन्दा आगामी चुनावलाई केन्द्रीत बनाएर पार्टीका गतिविधिमा देशदौडाह गरिरहेका छन् । फलतः सडकदेखि मिडियासम्म उठीरहेका प्रश्नलाई ङिच्च हाँसेर टार्नुबाहेक अर्काे उपलब्धी सरकारसँग छैन ।