काठमाडौँ – नेपाल आयल निगम लिमिटेडले बाँकेको नेपालगन्जमा एक वर्ष लगाएर निर्माण गरेको आधुनिक पेट्रोल पम्प बुधबार उद्घाटन गर्ने भएको छ।
आगलागीबाट जोगाउने यो ‘केमिकल फोम’युक्त मुलुककै पहिलो नमुना पम्प हो। यसको भण्डारण क्षमता पनि सबैभन्दा बढी छ। निगमका अनुसार पम्पको अन्डरग्राउन्डमा एक लाख सात हजार लिटर तेल अटाउने पाँचवटा भूमिगत ट्यांकी राखिएको छ। जहाँ २५–२५ हजार लिटर क्षमताको तीनवटा डिजेल ट्यांक र १६–१६ हजार लिटर क्षमताको दुईवटा पेट्रोल ट्यांक छन्। सो पम्प सञ्चालनमा आएपछि दैनिक कम्तीमा २० हजार लिटरसम्म इन्धन बिक्री हुने निगमको अपेक्षा छ ।
पम्पमा डिजिटल प्रविधिको डिस्पेन्सिङ मेसिन जडान गरिएको छ, जसकारण उपभोक्ताले सवारीसाधनमा इन्धन भर्दा परिमाण, कुल मूल्य र प्रतिलिटर मूल्यबारे सहजै जानकारी पाउनेछन्। हाल आयात भइरहेको युरो– ६ मापदण्डको इन्धनमा प्रज्ज्वलनशील क्षमता बढी भएर पम्पहरूमा आगलागी हुन थालेपछि निगमले बनाएको नयाँ पम्प परिसरमा विशेष किसिमको ‘अर्थिङ’ जडान गरिएको छ। जसकारण स्पार्क भई तेल बोकेको ट्यांकर वा पम्पमा आगलागी हुने सम्भावना न्यून रहेको निगमले जनाएको छ। निगमले यसअघि रुपन्देहीको भैरहवामा पम्प सञ्चालन गरिरहेको छ। सो पम्पलाई पनि दुई वर्षअघि अपग्रेड गरी ठूलो क्षमतामा इन्धन बिक्रीयोग्य बनाइएको छ ।
पम्पमा डिजेल बिक्रीका लागि दुई र पेट्रोल बिक्रीका लागि तीनवटा डिस्पेन्सिङ मेसिन छन् ।


प्रतिक्रिया