कोरोना विशेष

सिरिन्ज अभावका कारण कोरोनाविरुद्वको खोप अभियान प्रभावित


काठमाडौँ – आगामी चैत मसान्तसम्म लक्षित जनसंख्यालाइ खोप लगाइसक्ने योजना अनुसार सरकारले दुई साताभित्र दैनिक ५ लाखको हाराहारीमा खोप लगाउने लक्ष्य राखेको थियो । तर, सिरिन्जको अभावमा खोप अभियान प्रभावित भएको छ ।

जसले गर्दा भएका खोप पनि भण्डारमा थन्किएका छन् । पछिल्लो पटक मन्त्रालयले १२ बर्ष माथिका सबै नागरिकलाई लक्षित बर्गमा समावेस गरेको छ । यो उमेर समूहका सबैलाई खोपको पहुँचमा ल्याउन अब तीब्र गतिमा खोप अभियान संचालन गर्नुको विकल्प छैन । तर, सामान्य सिरिन्जको अभावमा अहिले काठमाडौँ उपत्यका मै खोप अभियान प्रभावित बनेको छ ।

पुस १३ गतेबाटै सञ्चालन हुने भनिएको बालबालिकालाई लगाउन मिल्ने फाइजर खोप अभियान समेत सिरिन्जको अभाव भएको भन्दै भण्डारमा थन्किएका छन् । बिना तयारी खोप अभियानको मिति तय गर्दा खोप लगाउन तयारी अवस्थामा रहेका बालबालिका समेत अधिकारबाट बञ्चित भएका छन् ।

सोमबारसम्म देशभरी कुल जनसंख्याको ४७।३ प्रतिशतले कम्तीमा एक मात्राको खोप लगाइसकेका छन् भने पूर्ण मात्राको खोप ३४।९ प्रतिशतले लगाइसकेका छन् । खोप अभियान सुरु भएदेखि अहिले सम्म कूल २ करोड ४९ लाख५८ हजार ४ सय ८० मात्रा खोप लगाइएको छ