राजनीति

राष्ट्रियसभा निर्वाचनमा एमालेविरुद्व पाँच दलीय गठबन्धन


काठमाडौँ – पाँच दलिय सत्ता गठबन्धनबीच राष्ट्रिय सभा निर्वाचनका लागि सिट बाँडफाँडमा सहमति भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेकोे सत्ता गठबन्धनको बैठकले राष्ट्रिय सभा निर्वाचनको १९ सिटमा साझा उम्मेद्वार उठाउने निर्णय गरेको हो । बैठकले कांग्रेसलाई ६, माओवादी केन्द्र र एकीकृत समाजवादीलाई ५–५, जनता समाजवादी पार्टीलाई २ र राष्ट्रिय जनमोर्चालाई एक सिट छुट्याउने निर्णय गरेको छ ।

यसअघि सम्बन्धित पार्टीले जितेका ठाउँमा सोही पार्टीलाई नै यथावत् राख्दै थपिएका सिटमा गठबन्धन दलले भागबन्डा गरेको हो । सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाका रिक्त १९ सदस्यका लागि आगामी माघ १२ गते निर्वाचन हुँदैछ । मनोनीततर्फ एक जनामा भने कसलाई पठाउने भन्नेबारे सहमति भएको छैन ।

रिक्त हुन लागेको १९ पदमा हाल नेकपा एमालेका ८, नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रका ४–४ र कांग्रेसका ३ सदस्य छन् । पाँच दलिय गठबन्धनले अब हुने चुनावबाट एमालेको ८ वटै संख्या खोस्ने रणनीतिअनुसार भागबण्डा गरेका हुन् ।