राजनीति

चीनमा उपचाररत वर्षमान पुनको आग्रहमा माओवादी केन्द्रीय समितिको बैठक स्थगित


काठमाडौँ – चीनमा उपचाररत वर्षमान पुन नेपाल आउने भएपछि माओवादी केन्द्रको सोमबारको बैठक पदाधिकारी चयन नगरि स्थगित गरिएको हो ।

वर्षमान पुन र उहाँकी श्रीमती ओनसरी घर्तिमगरले बैठकमा सहभागी हुने चाहना राखेपछि सोमबारको बैठक स्थगित गरिएको केन्द्रीय सदस्य प्रकाशहरि पोखरेलले जानकारी दिनुभयो । पोखरेलका अनुसार चीनमा उपचाररत वर्षमान पुन र उहाँकी श्रीमती ओनसरी घर्तिमगर दुई दिनपछि नेपाल फर्किँदैहुनुहुन्छ ।

‘दुई दिनपछि उहाँहरु (वर्षमान र ओनसरी) नेपाल फर्किँदै हुनुहुन्छ । उहाँहरु दुवै जनाले बैठकमा सहभागी हुने चाहना देखाउनुभएको छ । त्यही भएर आजको बैठकले अध्यक्ष चयन गरेर स्थगित भएको हो’, पोखरेलले भन्नुभयो ।

त्यस्तै अर्का केन्द्रीय सदस्य राजु खड्काले प्याकेजमै सहमति गर्न आजको बैठक स्थगित भएको बताउनुभयो ।