राजनीति

माओवादी केन्द्रको अध्यक्षमा प्रचण्ड निर्विरोध निर्वाचित


काठमाडौँ – नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड निर्विरोध चयन हुनुभएको छ ।

माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको सोमबार बसेको बैठकले पार्टी अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई निर्विरोध चयन गरेको हो । बैठकमा नारायणकाजी श्रेष्ठले प्रचण्डको नाम प्रस्ताव गर्नुभएको थियो भने कृष्णबहादुर महराले समर्थन गर्नुभएको छ । अरु कसैको उम्मेदवारी नपरेको भन्दै जेष्ठ सदस्यको हैसियतमा बैठकको अध्यक्षता गरेका दिनानाथ शर्माले प्रचण्ड निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभयो ।

प्रचण्डकै नेतृत्वमा जनयुद्ध, जनआन्दोलन, शान्ति प्रक्रिया हुँदै संविधानसभा निर्वाचन र संघीयता तथा गणतन्त्रसहितको संविधान निर्माण भएको भन्दै श्रेष्ठले प्रचण्डकै नेतृत्वमा अब बाँकी कार्यभार पूरा गर्ने संकल्प गर्नुपर्नेमा जोड दिनुभयो ।

श्रेष्ठले राखेको प्रस्तावलाई बैठकले सर्वसम्मत अनुमोदन गरेको हो ।