राजनीति

गठबन्धनको संयुक्त बैठक बस्दै, राष्ट्रिय सभा निर्वाचनमा सिट बाँडफाँड मुख्य एजेन्डा


काठमाडौँ – आसन्न राष्ट्रिय सभा चुनावबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक अहिले केहीबेरमा बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनको बैठक बस्न लागेको प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।

बैठकले राष्ट्रियसभाको १९ सीटका लागि साझा उम्मेदवार टुंगो लगाउने भएको छ । राष्ट्रियसभामा एमालेबाट ८, कांग्रेसबाट ३, माओवादी केन्द्र र एकीकृत समाजवादीबाट ४–४ स्थान रिक्त हुँदैछ । सत्ता साझेदार दलहरुले गठबन्धन बनाएर निर्वाचनमा जाने निर्णय गरिसकेका छन् । कुन दलले कति सिट लिने भन्ने टुंगो बैठकले लगाउने नेताहरूको दाबी रहेको छ ।

राष्ट्रपतिबाट मनोनित हुने एक स्थान बाहेक १९ सिटका लागि यही माघ १२ गते चुनाव हुँदैछ । भोलि उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ । २१ गते उम्मेदवारीमा दाबी विरोधको उजुरी दिने, २२ र २३ गते उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने, २४ गते उम्मेदवारले नाम फिर्ता लिने र २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका निर्वाचन आयोगले बनाएको छ ।

पुस २५ गते नै उम्मेदवारलाई चुनाव चिहृन प्रदान गर्ने र तोकिएका मतदान केन्द्रमा माघ १२ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने आयोगले जनाएको छ ।