राजनीति

चुनाव नै नभई माओवादीको सकियो महाधिवेशन


काठमाडौँ – अपूरो केन्द्रीय नेतृत्व चयन गर्दै माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । आन्तरिक प्रतिष्पर्धा नै नगरी माओवादी केन्द्रले केन्द्रीय सदस्य चयन गरेको हो ।

विधानमा सहमति हुन नसके निर्वाचन पद्धति अंगीकार गर्ने उल्लेख छ । गत पुस ११ गते राजधानीको प्रज्ञा प्रतिष्ठानमा सुरु भएको महाधिवेशनले आठौँ दिन केन्द्रीय सदस्य चयन गर्दै सम्पन्न भएको हो ।

विधानअनुसार महाधिवेशनको बन्दसत्र हलबाट दुई सय ९९ सदस्यीय केन्द्रीय कमिटी बनाउनु पर्नेमा दुई सय ३७ सदस्यीय केन्द्रीय कमिटी मात्र चयन भएको छ । केन्द्रीय कमिटी चयनमा माओवादी केन्द्रले प्रणाली र विधि दुवै मिश्रित अपनाएको छ ।

माओवादी केन्द्रले पार्टीको विधानमा केन्द्रीय कमिटीमा ५० प्रतिशत समानुपातिक कोटा सुरक्षित गरेको छ । केन्द्रीय सदस्य चयन गर्दा क्लस्टर मिलाउन कठिन भएपछि ६२ पद रिक्त राखिएको छ ।

केन्द्रीय कमिटीले गर्ने १५ र अध्यक्षले १० प्रतिशत केन्द्रीय सदस्य मनोनयन गर्नेछन । यसैबीच, आज बस्ने केन्द्रीय कमिटीको पहिलो बैठकले अध्यक्ष सहित १५ सदस्यीय पदाधिकारी चयन गर्ने छ ।