मौसम

बालबालिका र बुढापाकालाई चिसोबाट यसरी जोगाउन सकिन्छ (भिडियोसहित)


काठमाडौँ — अहिले देशैभरि चिसो बढिरहेको छ । बढ्दो चिसोसँगै बिरामीहरु पनि बढेका छन् । पुराना दीर्घ रोग भएका देखि चिसोबाट हुने पखाल, रुघाखोकीदेखि निमोनियाको बिरामी बढेका छन् । यो चिसोमा दम र बाथका रोगीहरुलाई बढी च्याप्ने गरेको देखिन्छ । यसबाट बच्न कस्तो उपाय अपनाउनुपर्छ त ?

काठमाडौं लगायत देशका विभिन्न भागमा चिसो बढेको छ । नेपालमा मौसम परिवर्तन भएसंगै मंसिर, पुस र माघ महिनामा तापक्रम चिसिएर जनजीवन प्रभावित हुने गर्दछ । जाडो बढेसंगै अहिले चिसो मौसममा विभिन्न रोगहरु पनि बढ्दै गएको छ । विज्ञका अनुसार चिसोले मुटुमा समेत गम्भीर असर पुर्याउँछ । यसकारण मुटुसम्बन्धी समस्या भएकाले यो समयमा विशेष सावधानी अपनाउनुपर्छ ।

चिसोका कारण रक्तनली साघुँरिएर रगत प्रवाहमा असर पार्छ र यसले हृदयाघातको सम्भावना बढाउँछ । बाथले पनि जाडोमा बढी दुख दिने गर्दछ । बाथ गर्मीमा पनि उत्तिकै मात्रामा देखिन्छ । तर जाडोमा धेरै बिरामीहरुलाई बाथले दुःख दिएको चिकित्सकहरु बताउछन् । बाथको बिरामीहरुले जाडोमा गर्नुपर्ने तातो, न्यानो, लुगा लगाउने, तातो भएर बस्ने, चिसो पानी नचलाउने, चिसोबाट टाढा बस्ने, फ्रिजको कुराहरु नखाने, तातो गरेर वार्म गर्ने, आफ्नो जोर्नीहरुलाई न्यानो बनाएर राख्नुपर्ने उनीहरु सुझाव दिन्छन् ।

चिकित्सकका अनुसार चिसो मौसममा बूढाबूढी र बालबालिकाको स्वास्थ्यमा विशेष ध्यान दिनुपर्छ । कम र बढी उमेरका व्यक्तिको शरीरको रोगप्रतिरोधात्मक क्षमता कम हुने भएकाले उनीहरूलाई चिसोले बढी असर गर्छ । उनीहरू चिसोबाट बचाउन चिकित्सकहरुले आग्रह गरेका छन् ।

रुघाखोकी र ज्वरोले जाडो मौसममा जोकोहीलाई दुःख दिन्छ । हातगोडा, अनुहारलगायतका छाला फुस्रो हुने र फुट्ने समस्या त सामान्य भइहाले । अधिक चिसोका कारण श्वासप्रश्वास र घाँटीको समस्याले सताउने र स्ट्रोक हुने भएकाले विशेष ध्यान दिनुपर्छ ।

तुलसी, अदुवा, महको नियमित सेवन गर्ने,घाम ताप्ने, तेलले मालिस गर्ने,छालालाई चिसोबाट जोगाउन कोल्ड क्रिमलगायत प्रयोग गर्ने जस्ता उपाय अपनाए पनि चिसोबाट बच्न सकिने चिकित्सकहरु बताउँछन् ।