राजनीति

मनोनीतमा देउवाको मनोमानी : शेखरलाई निषेध ! पौडेल, सिंह र निधिलाई हातमा लिए (भिडियोसहित)


काठमाडौँ — नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट पुनः सभापतिमा निर्वाचित भएका शेरबहादुर देउवाले ३३ जनालाई तजबिजकै आधारमा मनोनित गर्न पाउँछन् । त्यसमध्येका १३ मनोनित भएका छन् । तर आफुविरुद्ध उभिएको पंक्तिलाई देउवा निषेधकै शैली अपनाएका छन् ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मनोनितमा मनोमानी गर्दै शनिबार १० जनालाई केन्द्रीय सदस्य बनाए । महाधिवेशनका बेला प्रतिस्पर्धा बाहिर रहेका नेताहरु रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला,नारायण खड्का, मीन विश्वकर्मा र उमा रेग्मी देउवाको मनोनयनमा परे ।देउवाविरुद्ध नै उम्मेद्वारी दिएर अन्तिममा सघाएका विमलेन्द्र निधि, प्रकाशमान सिंह र सुजाता कोइराला पनि देउवाको सूचिभित्र परे । देउवाकै टिममा रहेर कार्यकर्ताले नरुचाएका विजयकुमार गच्छदार रप्रकाशशरण महत पनि देउवाको मनोनितमा परेर केन्द्रीय समितिमा आए । तर महाधिवेशनमा शेखर कोइरालाको टिममा देखिएका अनुहारप्रति देउवाले निषेधकै शैली अपनाए ।

शनिबार छुटेका मध्ये सभापतिमा पराजित कल्याण गुरुङ, महामन्त्रीमा पराजित प्रदीप पौडेल र सहमहामन्त्रीमा पराजित जीवनबहादुर शाहीलाई देउवाले आइतबार मनोनित गरेका छन् । तर यसैगरि उपसभापतिमा पराजित भएका चन्द्र भण्डारी र महेश आचार्य, महामन्त्रीमा पराजित मिनेन्द्र रिजाल र राजाराम कार्कीलाई देउवाले ल्याउन चाहेनन् । भण्डारी र रिजाल कोराइलाको टिमबाट चुनाव लडेका थिए भने आचार्य स्वतन्त्र उम्मेद्वार बनेका थिए । कार्की भने निधिको महामन्त्रीका रुपमा पेश भएका थिए । त्यसबाहेक काँग्रेसभित्र विचारसमूहको अगुवाई र वैचारिक नेताको छबी बनाएका प्रदीप गिरी जस्ता पाका अनुहार समेत देउवाको उपेक्षामै परेका छन् ।

यसलाई कांँग्रेसहरुले नै देउवाको मनोमानीका रुपमा बुझेका छन् । सभापतिका मुख्य प्रत्यासी शेखर कोइराला भने स्वतः केन्द्रीय सदस्यमा मनोनयन हुने प्रावधान छ ।पार्टी विधानको धारा २१ को उपधारा १० बमोजिम सभापतिले ३३ जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्ने अधिकार सुरक्षित गरेको छ । जसअनुसार देउवाले १३ सदस्यलाई मनोनित गरेका छन् । बाँकी रहेका २० मध्ये १३ महिला ल्याउनु पर्नेछ । किनकि संविधानले नै ३३ प्रतिशत महिलाको हक सुरक्षित गरेको छ ।

१६८ सदस्यीय केन्द्रीय समितिमा ३३ प्रतिशत महिला पु¥याउन ५६ जनाले प्रतिनिधित्व गर्नुपर्छ ।तर, महाधिवेशनबाट एक पदाधिकारीसहित ४१ महिलामात्रै निर्वाचित छन् । त्यसआधारमा अब महिला प्रतिनिधित्व सुनिश्चित गर्न सभापतिले ३३ मध्ये १३महिला मनोनित गर्नैपर्ने दबाब छ । १३ महिला मनोनित गर्दाबाँकी रहने ७ सदस्यमा देउवातिरकै धेरै आकंक्षी छुट्ने सम्भावनाबीच शेखरतिरका पर्ने सम्भावना एकदमै न्यून छ ।शेखर कोइराला पक्षले पनि यसअघि नै भागबण्डामा दाबी नगर्ने बरु देउवाले सन्तुलित व्यवहार नगरे चुप नबस्ने सार्वजनिक चेतावनी दिएको छ । तर देउवाले आफ्नै तजबिजलाई मात्रै ध्यान दिएपछि काँग्रेसभित्रको अन्तरद्वन्द्व थप चर्किने देखिन्छ ।