राजनीति

माओवादीमा समानुपातिकतर्फका केन्द्रीय सदस्य छान्न चुनाव नहुने


काठमाडौँ — नेकपा माओवादी केन्द्रमा समानुपातिकतर्फ केन्द्रीय सदस्य सहमतिबाटै चयन हुने भएको छ ।

काठमाडौँमा चलिरहेको आठौं राष्ट्रिय महाधिवेशनले २९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ । जसमध्ये १४५ जना खुलातर्फबाट र १५४ समानुपातिक पद्धतिबाट चयन हुनेछन् । समानुपातिकतर्फ ८ वटा क्लस्टर छुट्याइएको छ ।

समानुपातिकतर्फ प्रदेश १ बाट २१, प्रदेश २ बाट २५, वागमतीबाट ३०, गण्डकीबाट १४, लुम्बिनीबाट २३, कर्णालीबाट १७, सुदूरपश्चिमबाट १६ र विशेष क्षेत्रबाट ८ जना गरी कुल १५४ जना चयन हुनेछन् ।

सहमतिकै प्रयासमा बन्दसत्र स्थगित गरेर स्थायी कमिटी सदस्यहरुको बैठक पटकपटक बसेको छ । माओवादी केन्द्रले सहमतिकै लागि निर्वाचन कार्यक्रम तीन पटक संशोधन गरिसकेको छ ।