राजनीति

सर्वसम्मतबाट नेतृत्व चयन गर्नु पर्ने माओवादी प्रतिनिधिको जोड


काठमाडौँ – नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्नुपर्नेमा प्रतिनिधिहरुले जोड दिएका छन् । पुष ११ गतेदेखि जारी माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनको बन्द सत्र जारी छ ।

शनिबारदेखि नेतृत्व चयनको लागि निर्वाचन आयोगले कार्यतालिका प्रकाशित गरेपनि एकाएक कार्यतालिका अनुसारको प्रक्रिया रोकी सहमतीमा पार्टी केन्द्रीय कमिटी घोषणाको लागि छलफल अगाडी बढाइएको छ । चुनावी प्रक्रियाबाट सिंगो केन्द्रीय कमिटी र पार्टी नेतृत्वको चयन गर्नुपर्ने मत पनि बन्दसत्रमा उठेको भएपनि बढीभन्दा बढी प्रतिनिधिहरुले भने पार्टीलाई सुदृढ र एकतावद्ध बनाउनका लागि सर्वसम्मत् नेतृत्व चयन गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधि डा. कृष्णप्रसाद खनाल माओवादी पार्टी भित्र चुनावको संस्कार विकसित नभएको अवस्थामा सर्वसम्मत रुपले कमिटी निर्माण गर्नुपर्ने बताउनुहुन्छ । प्रतिनिधि लिलाधर खनाल भने प्रतिस्पर्धा भएमा पार्टी स्वच्छ र मजबुद बन्ने बताउनुहुन्छ । प्रतिस्पर्धाबाट आएमा नेताहरुले आफ्नो क्षमता देखाएर अगाडी बढ्न सक्ने उहाँले बताउनुभयो ।