राजनीति

न्यायालयलाई स्वतन्त्र बनाउन प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने नेपाल बारको अडान


काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आज पनि कानून व्यवसायीहरुले बिरोध प्रदर्शन गरेका छन् । सर्वोच्च अदालत परिसरमा नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशनका पदाधिकारी तथा कानून व्यवसायीहरुले आज पनि आन्दोलन गरेका हुन् ।

प्रदर्शनका क्रममा सञ्चारकर्मीहरुसँग बोल्दै नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायपालिकाको विकृति र विसंगति हटाउनका लागि आफूहरुले आवाज उठाएको बताउनु भयो । उहाँले न्यायपालिकाबाट स्वतन्त्र, निष्पक्ष, स्वच्छ, निर्भिक ढंगबाट न्याय सम्पादन हुनुपर्ने र त्यसका लागि प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने बताउनु भयो ।

अध्यक्ष श्रेष्ठले काठमाडौं उपत्यका बाहिर रहेका कानून व्यवसायीहरुले अहिले भइरहेको आन्दोलन पर्याप्त नभएको गुनासो गरेसँगै अब झनै सशक्त आन्दोलन गर्ने बताउनु भयो ।