राजनीति

ओली, देउवा र प्रचण्ड भाग्यमानी, सधैं असफललाई देशको चाँबी


काठमाडौँ – करिब एक महिनाकै अवधिमा तीन ठूला राजनीतिक शक्तिले राष्ट्रिय महाधिवेशन सम्पन्न गरेका छन् । महाधिवेशनबाट नेतृत्वमा पुनः पुरानै नेताहरु स्थापित भएका छन् । जुन राष्ट्रिय समस्यामा निकास दिन असफल भइरहने नेताहरु हुन् । बारम्बार पार्टी र सत्ताको नेतृत्वमा असफल भइरहने तीन अनुहारलाई पार्टी भित्रको आन्तरिक प्रतिस्पर्धाले पुनः एकपटक अनुमोदन गरेको छ ।

मंसिर दोस्रो साता चितवनमा सम्पन्न १० औं राष्ट्रिय महाधिवेशनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुनः नेतृत्वमा अनुमोदन ग¥यो । मंसिरकै अन्तिम साता सम्पन्न १४ औं महाधिवेशनबाट नेपाली काँग्रेसको सभापतिमा प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवा फेरि दोहोरिए । यी दुवैले सहमति र सर्वस्वीकार्यको विकल्प चाहेपनि उनीहरुको निर्विकल्प अवस्था माथि प्रश्न उठाउदै केही नेताहरु विपक्षमा उभिएपछि प्रतिपस्र्धाकै माध्यमबाट अनुमोदित हुनु परेको हो । तर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को हकमा भने आफ्नो टक्करको प्रतिस्पर्धी नै भेटिएन् ।

राष्ट्रिय सम्मेलनलाई आठौं महाधिवेशनमा बदलेर पार्टी रुपान्तरणमा होमिएका प्रचण्ड तीन दशकपछि पनि पुनः सर्वेसर्वा प्रमाणित भएका छन् । मुलुकको सत्ता सञ्चालनमा पहिलो हक राख्दै आएका यी तीनै नेता पार्टीका महाधिवेशनबाट नेतृत्वमा दोहोरिएपछि देश चलाउने जिम्मा पनि उनीहरुकै हातमा गएको छ । यी तीन ठूला पार्टीको महाधिवेशनमाथि नै चुनौति दिनेगरि संसदीय राजनीतिको एक सिटे अस्तित्वमा रहेको राप्रपाले भने पुस्तान्तरणमा सफलता हात पार्दै रुपान्तरणको चरणमा प्रवेश पाएको छ ।

डेढ दशक लामो नेतृत्वको धङधङीलाई विर्सजन गर्दै राजेन्द्र लिङ्देनको उदय हुनु नै सकारात्मक अर्थमा बुझिएको छ । तर निर्णायक तहमा राप्रपाको अस्तित्व सहायक नै हुनेभएपछि तीन ठुला पार्टीमा मुलुकका गतिविधि केन्द्रीत हुनेछन् । संसद्देखि न्यायालयसम्म अस्तव्यस्त बनाएर यी नेताहरुसत्ता काण्ड र विकृतिको बाहकमै सीमित भएका छन् । सत्ताको हाइफाइमा रहँदा एमाले अध्यक्ष ओलीले ६ महिनाकै अवधिमा दुईपटक असंवैधानिक संसद् विघटन गरे ।

अदालतले छिनोफानो लगाउँदा काँग्रेस सभापति देउवाले प्रधानमन्त्री बन्ने अवसर पाए । सरकारबाट बहिर्गमित हुँदाको पीडा अहिलेसम्म एमालेले संसद्मा पोखिरहेको छ । प्रधानमन्त्री देउवासहितको सत्ता गठबन्धनलाई ओलीसँग सहमतिका साथ संसद् चलाउनुपर्ने दबाब छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणाले कार्यपालिकासँग भागबण्डा खोजेको र न्यायालयमा विकृति भित्र्याएको आरोपसहित विगत दुईमहिनादेखि आन्दोलन चर्किएको छ । दलहरुले निकासबारे अपत्यारिलो मौनता साँधेका छन् । बरु अनावश्यक टकरावमै उनीहरुको समय ब्यतित भएको छ ।

समयले एउटै व्यक्तिलाई बारम्बार अवसर दिँदैन । यी नेताहरु त्यस्ता भाग्यमानी अपवाद हुन, घुमिफिरी पटक–पटक पार्टीको नेतृत्व, प्रधानमन्त्री र राष्ट्रिय राजनीतिको शक्ति केन्द्रमा रहिरहने सौभाग्य पाएका छन् । तर दुखको कुरा राष्ट्रिय राजनीति, विकास र सहकार्यमा भने उनीहरु जहिल्यै असफल सिद्ध हुँदै आएका छन् ।