राजनीति

कांग्रेस सभापतिद्वारा १० केन्द्रीय सदस्य मनोनीत


काठमाडौँ – नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार १० जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् । कांग्रेस केन्द्रीय कार्यालयका अनुसार देउवाले रामचन्द्र पौडेलसहित हालैसम्पन्न महाधिवेशनमा उम्मेदवार भएर पराजित भएका र उम्मेदवार नै नबनेका नेताहरुलाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनित गरेका छन् ।

सभापतिको उम्मेदवार बनेर पराजित भएका प्रकाशमान सिंह र विमलेन्द्र निधि, महामन्त्रीको उम्मेदवार भएर पराजित भएका डा. प्रकाशसरण महत, उपसभापतिको उम्मेदवार भएर पराजित भएकी सुजाता कोइराला र विजयकुमार गच्छदार तथा केन्द्रीय सदस्यको उम्मेदवार भएर पराजित भएकी उमा रेग्मीलाई देउवाले मनोनित गरेका छन् ।

यस्तै उम्मेदवार नै नबनेका रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, डा. नारायण खड्का र मीन विश्वकर्मालाई पनि मनोनयन गरिएको छ ।

सभापतिले ३३ जना केन्द्रीय सदस्य मनोनयन गर्न पाउने व्यवस्था कांग्रेस विधानले गरेका छ। अब देउबाले २३ जना केन्द्रीय सदस्य मनोनित गर्न पाउने छन् । पहिलो पटकै मनोनित हुने चर्चामा रहेका महामन्त्रीमा पराजित प्रदीप पौडेल, सभापतिमा पराजित कल्याण गुरुङ र महामन्त्रीमा पराजित डा. मिनेन्द्र रिजाल भने मनोनित भएनन् ।