राजनीति

सरकार परिवर्तन हुनासाथ राजदूत फिर्ता बोलाउने बेथितिको अन्त्य गर्न सांसदहरुको माग (भिडियोसहित)


काठमाडौँ — सरकार परिवर्तन हुनासाथ राजदूत फिर्ता बोलाउने बेथितिको अन्त्य गर्नुपर्नेमा सांसदहरुले जोड दिएका छन् । समय अगावै राजदूतलाई फिर्ता बोलाउँदा विश्वजगतमा राज्य कमजोर हुने संसद्हरुको तर्क छ ।

प्रतिनिधि सभा अन्र्तगतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै सांसदहरुले सरकार परिवर्तन भएसँगै राजदूतहरुलाई फिर्ता बोलाउने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताएका छन् । सुक्रबारको बैठकमा बोल्दै नेकपा (एमाले)का सांसद भीम रावलले सरकार र मन्त्री फेरिनासाथ राजदूत फिर्ता बोलाउनुलाई बेथितिको संज्ञा दिए । यसरी समय अगावै राजदूतलाई फिर्ता बोलाउनाले विश्वजगतमा राज्य कमजोर हुने उनले तर्क थियो । नेपालको कुटनीतिक क्षेत्र सुदृढ र प्रभावकारी नबनेको तथा समयानुकुल काम गर्न नसक्ने अवस्थामा पुगेको उनको आरोप छ ।

सांसद रावलले साना देशका लागि कुटनीतिक क्षमता वृद्धि गर्नु देशको अस्तित्वसँग गासिने तर्क गरे । त्यसैगरी उनले अहिले नेपालमा सिमानासँग सम्बन्धित विषय संवेदनशील भएर आएको भन्दै देशको सुरक्षा गर्ने र जनताको सुरक्षा गर्ने राज्यको प्रमुख कर्तव्य भएको बताए । नेपालको सिमाना मिचिदा पनि परराष्ट्र मन्त्रालय मौन बसेकोमा उनले आपत्ति जनाए ।

बैठकमा बोल्दै सांसद पुष्पा भुसालले सरकार परिवर्तन सँगै राजदूत फिर्ता बोलाउनुले राम्रो सन्देश नगएको टिप्पणी गरिन् । उनले निश्चित समयसम्म राजदूतलाई फिर्ता बोलाउन नपाउने व्यवस्था गर्नुपर्ने बताइन् । सांसद भुसालले नेपालमा सरकार परिवर्तन भइरहने भन्दै राजदूत परिवर्तन भइरहँदा दुई देश विचको सम्बन्धमा समेत असर पर्ने बताइन् ।