राजनीति

के सुध्रिएलान् त माओवादीका नेता–कार्यकर्ता : क्रान्तिकारी कुरा, पूँजिवादी व्यवहार कहिलेसम्म ? (भिडियोसहित)


काठमाडौँ — सर्वहारा वर्गको प्रतिनिधित्व गर्ने दाबी गर्दै आएको माओवादी केन्द्र आफै सर्वहारा रहेन । पूँजीवाद र पूँजिपति वर्गको विरोध गर्ने पार्टीको नेतृत्व पङ्तिमै पूँजीवादी प्रवृत्ति हावी छ । काठमाडौमा जारी आठौ महाधिवेशनले माओवादीलाई सुधार्ने ठोस दस्तावेज ल्याउन सक्ला ?

नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा जारी छ । माओवादीको महाधिवेशन अध्यक्ष पुष्पकमलद दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक दस्तावेज र दस्तावेजमाथी समूहमा भएको छलफल र नेताहरुको सुझावका कारण थप चर्चापूर्ण बन्यो । दस्तावेजमा अध्यक्ष प्रचण्डले माओवादी नेताहरुले आफ्ना छोराछारीलाई सरकारी विद्यालयमा पढाउनु पर्ने उल्लेख गरे । तर प्रचण्डकै नाती मासिक ५० हजार तिरेर नीजि विद्यालयमा पढ्छन् ।

सर्वसाधारणको पहुँच नपुग्ने गरी सुरक्षा घेराभित्र रहन्छन् । ठेकेदारकै घरमा बस्छन् । अदृश्य लगानीमा सक्रिय पूजीपति र विचौलीयहरु उनको विछौनासम्म पुग्ने सामथ्र्य राख्दछन् । तर अझै पनि प्रचण्डको राजनीतिक दस्तावेज जनमुखी शिक्षामा नै केन्द्रित छ । दस्तावेजमाथिको समूहगत निष्कर्ष पनि जनमुखी शिक्षामा नै केन्द्रित बन्यो । नबनोस् पनि कसरी ? जनयुद्ध ताका विद्यालयमा हुने पढाईलाई बुर्जुवा शिक्षाको संज्ञा दिँदै वैज्ञानिक शिक्षाको नारा जो लगाएका थिए । तर यी नै नेताहरुको व्यवहार भने ठिक उल्टो छ । माओवादी नेताका छोरोछोरी मासिक महंगो शुल्क तिरेर राजधानी र विदेशका नीजि विद्यालयमा पढाउँछन । प्रत्येक महाधिवेशनमा क्रान्तिकारी कुरा गर्ने र कार्यन्वयन पक्ष फितलो हुने माओवादीमा रोग नै छ । आठौं महाधिवेशनमा पनि प्रतिनिधिले थुप्रै सुधारका योजना अघि सारेका छन् । तर यसपटक पनि कार्यन्वयनमा भने आशंका कायमै छ ।

माओवादीले संघियता मार्फत जनताको घर घरमा सेवा पुग्ने दावी गरिरहँदा, स्थानीय तहका नेताहरु नै डोजरको मालिक बनिरहेका छन् । राष्ट्रियस्तरकै ठूला ठूला ठेक्कापट्टा र कमाउ धन्दामा माओवादी नेता कार्यकर्ता अग्रभागमा देखिन्छन् । जनप्रतिनिधी कसले कति महंगा गाडी चढ्ने होडवाजीमा छन् । तर माओवादी नेताहरु अब आफुहरु सुध्रिनुको विकल्प नभएको बताउँछन ।

सर्वहारा वर्गको प्रतिनिधित्व गर्ने दाबी गर्दै आएको माओवादी नेता कार्यकर्तामा शान्तिप्रक्रियामा आएपछि बाँच्ने तरिकामा व्यापक फेरबदल आइसकेको छ । तर अध्यक्ष प्रचण्डको दस्तावेज अझै पनि समग्रतामा अर्थतन्त्रलाई दलाल र विचौलियाबाट फुत्काउने, बढ्दो उपभोक्तावादी संस्कृति रोक्ने र स्वतन्त्र एवं आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्दै समाजवाद लक्ष्य केन्द्रित छ । नेतृत्वपंतmीबाटै गहन समिक्षा र सुधारको पक्षमा उभिएका नेताहरुको व्यवहार कत्तिको सुध्रिन्छ त्यो भोलिको दिनमा प्रष्ट हुनेछ ।