राजनीति

प्रचण्डमाथि सवाल–जवाफको ओइरो : टाउकोमा आगो लगाएर हिड्न तयार, एमसीसीमा बोल्नै धौं !(भिडियोसहित)


काठमाडौँ — माआवादी केन्द्रको आठौं महाधिवेशनमा समूहगत छलफलपछि आएका सुझावमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिएका छन् । तर नेता कार्यकर्ताका सुझावले स्थान पाउने सम्भावनामा कैची चलाउने प्रचण्डको मनसाय देखिएको छ ।

महाधिवेशन प्रतिनिधिहरुले उठाएका सवाफको जवाफ दिँदै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने, ‘सुझाव सबैका समेट्छु तर प्रतिवेदनमा व्यापक फेरबदल हुँदैन ।’ मतलब आफुले पेश गरेको दस्तावेजहुबहु पारित गर्ने भन्ने चाहना प्रचण्डको थियो । प्रचण्डले सार्वधिक चासोमा पारेका र सुझाव आएका केही विषयमा समेत जवाफ दिएका छन् । जसमध्येका केहीको जवाफ यस्तो छ :

प्रश्न– माओवादी किन एमसीसीकोविपक्षमा उभिन नहुने ?

जवाफ– दस्तावेजमा जे समेटिएको छ, त्यही रुपमा बुझ्नुस् । एमसीसी सम्झौताका विषयमा प्रतिनिधिहरुले माओवादी पूर्ण रुपले खारेजको पक्षमा उभिनु पर्ने सुझाव दिएका थिए । तर प्रचण्डले जवाफमा खासै समय खर्चिएका छैनन् । उनले दस्तावेजमा जुन रुपले एमसीसी समेटिएको छ, त्यही रुपमा स्वीकार्ने आग्रह गरेका छन् ।

प्रचण्डले आफ्नो प्रतिवेदनमा ‘परिमार्जनसहित राष्ट्रिय हित अनुकुल बनाएर पारित गर्ने’प्रस्ताव गरेका छन् । अहिलेकै गठबन्धन सरकारमा बसेर एमसीसीविरुद्ध निर्णय गर्नु प्रचण्डका लागि फलामको चिउरा चपाए सरह छ । तर पार्टीभित्र उठिरहेका विरोधलाई पन्छाउन पनि प्रचण्डका लागि सजिलो छैन ।

दस्तावेजमाथिको शंका

प्रश्न– दस्तावेज कसरी कार्यान्वयनहुन्छ ?
जवाफ– सिंगो हललाई सम्बोधन गरेर कार्यान्वयन हुन्छ ।

प्रतिनिधिहरुले प्रचण्डको दस्तावेज कार्यान्वयनमै शंका गरेका थिए । जवाफमा प्रचण्डले आफ्नो प्रतिवेदनले सिंगो हललाई सम्बोधन गरेको र कार्यान्वयन हुने विश्वास दिलाएका छन् ।

प्रचण्डको जीवनशैलीमाथिको प्रश्न

प्रश्न– तपाईँको बास पुजीँपति ठेकेदारको घरमा किन?
जवाफ – जरुरी परे झँुपडीमा बस्न तयार छु ।

प्रचण्डको खुमलटारस्थित ठेकेदार शारदाप्रसाद अधिकारीको घरमा बास छ । तर सर्वहारा वर्गको नेतृत्व गर्ने पार्टीको अध्यक्षले पुजिँपति ठेकेदारको घरामा डेरा जमाएर बसेको विषयमा प्रश्न उठेको थियो । जवाफमा प्रचण्डले भनेका छन्, जरुरी पर्दा मलाई गाउँघरमा जान, किसान मजदूरसँग खान, जनतामाझ गएर बस्न कुनै गाह्रो छैन ।

सैदान्तिक विचलनको प्रश्न :

प्रश्न– माओवादीको सैदान्तिक विचलनले अवसर गुम्ने चिन्ता छैन ?
जवाफ– अवसर गुम्न दिन्न, जरुरी पर्दा टाउकोमा आगो लगाएर हिड्न तयार छु ।

माओवादी सैदान्तिक विचारधाराबाट विचलित भएको प्रश्नले समेत महाधिवेशनमा टाउँ पाएको थियो । जसले अवसर गुम्ने चिन्ता प्रतिनिधिले गरेका छन् । जवाफमा उनले भनेका छन्,यो पार्टीलाई क्रान्तिकारी बनाउन, जस्तासुकै त्याग, कष्ट र बलिदान गर्न तयार छु । म यो अन्तिम अवसर गुम्न दिन्न । उनले एउटा छलाङ हान्न खोजेको भन्दै जरुरी पर्दाआफ्नै टाउकोमा आगो लगाएर हिड्न तयार रहेको बताएका छन् ।

धेरै विषयमा प्रचण्डले खुलेर जवाफ नै दिएका छैनन् । आफ्नो दस्तावेज उफर आएका पुरक प्रस्तावमासमेत उनको चित्तबुझ्दो जवाफ आएन् । प्रचण्डले विचार निर्माणका लागि आगामी चुनाव लगतै विशेष महाधिवेशन गर्ने बताएका छन् ।

बरु माओवादीका सदस्यहरुले घरमा सप्ताह पुराण र सामाजिक सञ्जालमा रिप अर्थात कसैको मृत्युमा ‘रेस्ट इन द पिस’ लेख्न नपाउने भएका छन् । यो क्रिशियनहरुले लेख्ने भन्दै कम्युनिष्टले हार्दिक श्रदाञ्जली लेख्नुपर्ने बताईएको छ ।