राजनीति

सत्तोसरापमा नेता : दलहरुबीच छैन हार्दिकता, वीपीकै रगत शशांक, शेखर र सुजाताबीच छैन हार्दिकता, खोई मेलमिलाप ? (भिडियोसहित)

कहाँ हरायो मेलमिलाप ?


काठमाडौँ — पहिलो निर्वाचित प्रधानमन्त्री वीपी कोइरालाले २०३३ सालमा राष्ट्रिय एकता र मेलमिलापको नीति लिएका थिए । जुन अहिले पनि उत्तिकै सान्दर्भिक छ । तर दलहरुबीचको एकता उल्टो दिशामा अघि बढेको छ ।

२०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले ‘कू’ गर्दै शासन आफ्नो हातमा लिएपछि कांग्रेस संस्थापक एवम् तत्कालीन प्रधानमन्त्री वीपी कोइरालालगायतलाई जेल हालियो । महेन्द्रले उनीहरुमाथि देशद्रोहको मुद्दासमेत लगाए । २०२५ कात्तिक १४ गते उनीहरुलाई जेलमुक्त गरियो । तर मृत्युदण्डको मुद्दाले देशमा बस्न दिएन । उनीहरुले भारतमा निर्वासन जीवन बिताउन थाले । त्यसको ८ वर्षपछि २०३३ साल पुस १६ गते वीपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य र खुमबहादुर खड्कालगायतका नेताहरुमुद्दाको बेवास्ता गर्दै राष्ट्रियता जोगाउन राजसंस्था र सबै राजनीतिक दलहरु मिलेर अघि बढ्नुपर्ने मेलमिलापको नीति अंगाल्दै स्वदेश फर्किए ।त्यतिबेला वीपीले अंगालेको राष्ट्रियता एकता र मेलमिलापको नीतिमा भनिएको थियो ।

‘हाम्रो देश आज राष्ट्रिय संकटमा छ ।केही बर्ष यतादेखि यो संकट चर्किदै गएको सबैले महसुस गरेकै हो । यसले गर्दा राष्ट्रिय अस्तित्व नै समाप्त हुने स्थिति आएको छ । यस तथ्यलाई अरुले पनि स्वीकार गरेका छन् । यो गम्भिर वास्तविकतालाई बुझेर हामी स्वदेश फर्किर्दैछौँ ।’

तर विमानस्थलबाटै उनीहरुलाई पक्राउ गरेर सुन्दरजलको जेलमा थुनियो ।वीपीले २०३३ सालमा भनेको राष्ट्रिय संकटको कुरा अहिले पनि जस्ताको त्यस्तै छ । मेलमिलापको नीति झनझन सान्दर्भिक बन्दै गएका बेला राष्ट्रिय एकता र सहमतिमा दलहरु एकले अर्काेलाई देखिनसहने अवस्थामा छन् ।

वीपीले लिएको त्यही नीतिको अस्तु बेचेर उनकै पार्टी नेपाली काँग्रेस अहिलेसम्म राजनीति चलाइरहेको छ ।भर्खरै महाधिवेशन सम्पन्न गरेको काँग्रेसमा वीपीलाई नीतिलाई निकै आहा गरियो । तर फोटो बेचर आ–आफ्नो स्वार्थ सिद्ध गर्न काँग्रेसीजन पछि परेनन् । पार्टीभित्रको अन्तरद्वन्द्व त परकै कुरा महाधिवेशनमा वीपीकै रगत बोकेका शशांक, शेखर र सुजाता नै मिल्न सकेनन् । मेलमिलाप र राष्ट्रिय एकतामा काँग्रेस भन्दा बढ्ता कम्युनिष्टहरु विभाजित छन् । एकअर्काको सत्तोसराप गरेरै दिन विताउनु उनीहरुको पेशा बनेको छ ।

राष्ट्रिय एकता मजबुत नभएकै कारण बाह्य हस्तक्षेपले प्रशय पाएको छ । सहमतिका साथ उठाउनुपर्ने सीमा विवाद र एमसीसी जस्ता मुद्दामा दलहरुका आ–आफ्नै स्वार्थ अनुकुलका मतभिन्नता छन् । एउटा दलको मञ्चमा अर्काे दलको नेताले सामान्य हार्दिकता देखाउन समेत चुकिरहेका छन् ।

२०४६ को जनआन्दोलन राष्ट्रिय एकताकै कारण सफल भएको थियो । संविधान जारी हुँदासमेत दलहरुबीच बलियो एकता देखिएको थियो । पछिल्लो पटक चुच्चे नक्सा जारी गर्दा दलहरुले अलिकति एकताको सन्देश दिए, विडम्बना त्यसले मूर्तरुप नपाउँदै उनीहरु एकअर्कासँग टाउको बटार्ने तहमा छन् । अहिलेको राजनीतिक अस्थिरता र दलहरुबीचको अनावश्यक टकरावले वीपीको नीतिलाई झनै सान्दर्भिक बनाएको छ । तर कार्यान्वयनको सम्भावना शून्य जस्तै छ ।