खेलकुद

‘ए’ डिभिजन लिग अन्तर्गत आर्मी र एपीएफ बराबरी


काठमाडौँ — शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा विभागीय टोली आर्मी र एपीएफ बराबरीमा रोकिएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न खेलमा आर्मी र एपीएफ १-१ को बराबरीमा रोकिएका हुन् ।

आर्मीले खेलको सुरुबाटै दवाव बनाएको थियो । खेलको ८औँ मिनेटमा आर्मीका कप्तान भरत खवासको प्रहार एपीएफका गोलकिपर युवा कुरियमाले बचाए । त्यस्तै, १३ मिनेटमा गोल पोस्ट नजिकैबाट जर्जप्रिन्स कार्कीले गरेको प्रहार बाहिरिएको थियो । २१ औँ मिनेटमा जगजितको कर्नरमा जर्जप्रिन्सको हेडिङ गोल पोस्ट नजिकैबाट बाहिरिएको थियो ।

एपीएफले आक्रमणको प्रयास गरे पनि आर्मीको रक्षा पङ्क्तिले राम्रो प्रदर्शन गर्दै सफल हुन दिएन । ३७ औँ मिनेटमा वान भर्सेस वानको अवस्थामा एपीएफका आशिष लामा गोल गर्न चुके । र, पहिलो हाफ गोलरहित बराबरीमा रोकियो। दोस्रो हाफ भने सुरुबाटै प्रतिस्पर्धात्मक बन्यो ।

खेलको ५७ औँ मिनेटमा एपीएफका नवीन लामाले गरेको कडा प्रहार आर्मीका गोलकिपर विकेश कुथुले जोगाएका थिए । त्यस्तै ६३ औँ मिनेटमा आर्मीले अग्रता बनायो । जसका लागि जर्जप्रिन्स कार्कीको प्रहार एपीएफका डिफेन्डर राजन गुरुङलाई लाग्दै गोल भएको थियो । तर, लगत्तै एपीएफ खेलमा फर्कियो ।

६७ औँ मिनेटमा विके तामाङले गोल फर्काए । नवीन लामाको प्रहार आर्मीका गोलकिपर कुथुले राम्ररी होल्ड गर्न नसक्दा पाएको अवसरमा तामाङले गोल गरेका थिए । खेलको अन्तिम समयमा आर्मीले दबाब बनाएको थियो यद्यपि गोल थप्न भने सफल भएन ।

जारी लिगमा आर्मीको यो पाँचौँ बराबरी हो । आर्मीले यसअघि नेपाल पुलिस, मच्छिन्द्र, सातदोबाटो र थ्री स्टार क्लबसँग बराबरी खेलेको थियो । त्यस्तै, च्यासल र ब्रिगेड ब्वाइजलाई हराएको थियो । आर्मी पछि एनआरटी र थ्री स्टार क्लबले ६ खेल खेल्दा सर्वाधिक ४ बराबरी खेलेका छन् । लगातारको बराबरीले आर्मीको उपाधि होडमा उपस्थिति कमजोर बन्न थालेको छ ।

एक अङ्क जोडेको एपीएफलाई भने राहत मिलेको छ । रेलिगेसन जोनबाट माथि उक्लन यसअघिका चरणमा सङ्घर्ष गरेको एपीएफ आजको बराबरीसँगै अङ्कतालिकामा ६ अङ्क जोडेको छ । आजै हुने दोस्रो खेलमा न्युरोड टिम ९एनआरटी० र फ्रेन्ड्स क्लब आमने सामने हुनेछन् ।

जारी लिगको तालिकाको पुछारमा रहेको फ्रेन्ड्स क्लब जितविहीन रहेको एकमात्र टोली हो । ६ खेलबाट तीन बराबरी खेल्दै एपीएफले ३ अङ्क जोडेको छ। एनआरटीले ६ खेलबाट ४ बराबरी र १ जित निकाल्दै ७ अङ्क जोडेको छ ।