राजनीति

सर्वोच्चका सबै पूर्वप्रधानन्यायाधीशहरुको सम्पत्ति छानबिन गर्न उजुरी


काठमाडौँ — सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीशहरु, पूर्वन्यायाधीशहरु र नेपाल बार एसोसिएसनका पूर्व अध्यक्षहरु लगायतको सम्पत्ति छानविन गर्न माग गर्दै सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा उजुरी परेको छ ।

न्यायपालिकामा हुने भ्रष्टाचारमा पूर्वप्रधानन्यायाधीशहरु, न्यायाधिशहरु, बेञ्च बार समन्वय समिति लगायतको पनि संलग्नता रहेको भन्दै स्वतन्त्र राष्ट्रिय कानुन व्यवसायी अभियानले शुक्रबार सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा उजुरी दर्ता गरेको हो । अभियानका अध्यक्ष अधिवक्ता स्वागत नेपालको नेतृत्वमा गएको टोलीले विभागका उपमहानिर्देशक कमल ढकाललाई उजुरी पत्र बुझाएका हुन् ।

अभियानका अध्यक्ष नेपालले सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले पनि बेञ्च वार समन्वय समितिमा रहने न्यायाधीशहरु लगायत पूर्व(न्यायाधीशहरु, बारका पूर्व-नेतृत्व र वर्तमान नेतृत्व भ्रष्टाचारमा संलग्न रहेको पुष्टि गरेको बताए।

उनीहरूले भ्रष्टाचार गरेर सम्पत्ति कमाएको ठहर अभियानले समेत गरेकाले छानबिनको माग गर्दै उजुरी दिएको अधिवक्ता नेपालले बताए ।

उनले भने, ‘अहिलेसम्मका सबै पूर्व प्रधानन्यायाधीशहरू, सर्वोच्च अदालतका पनि सबै पूर्व न्यायाधीशहरु, त्यसैगरी नेपाल बार एसोसिएसनको नेतृत्व, बेञ्च बार समन्वय समिति नामको बिचौलिया कमिटी, सेटिङ कमिटी नै भ्रष्टाचारको कारण हो र बिचौलिया हो भनेर सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदनले पुष्टि गरेको छ ।

उहाँहरूले गलत ढंगले भ्रष्टाचार गरेर कमाएको सम्पतिलाई अन्यत्र उपयोग गरेर शुद्धीकरण गरिएको हाम्रो ठहर छ । यो सम्पति शुद्धीकरणसँग सम्बन्धित विषय भएको हुनाले यो विभाग सम्बद्धता यो प्रश्नमा राख्छ । त्यसैले सम्पति शुद्धीकरण अनुसन्धान विभागसमक्ष आज यो उजुरीपत्र प्रस्तुत गर्न लागिरहेका छौँ ।’

अभियानले पूर्व-प्रधानन्यायाधीश, पूर्व-न्यायाधीशहरुको निधन भइसकेको अवस्था देखिएमा उनीहरूका परिवारका सदस्यउपर पनि छानबिन गरिनुपर्ने माग गरेको छ ।