कोरोना विशेष

फेरि ओमिक्रोन भेरियन्टको त्रास, तेस्रो लहर रोक्ने छैन तयारी ! (भिडियोसहित)


काठमाडौँ — कोरोनको पहिलो लहर सुरु हुँदा जसरी एकपछि अर्को मुलुकमा फैलिरहेको थियो नयाँ भेरियन्ट ओमिक्रोन अझ बढी आक्रमक रुपमा फैलिरहेको छ । ओमीक्रोन भाइरस भारतमा तीव्र रुपमा फैलिएसंगै नेपालमा झनै त्रास बढेको छ । यता विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले कोरोनाको डेल्टा र ओमिक्रोन भेरियन्टको मिश्रणले डरलाग्दो सुनामी ल्याउन सक्ने चेतावनी दिएको छ ।

कोरोना भाइरसको डेल्टा भेरियन्ट नियन्त्रणमा आईनसक्दै अहिले विश्वमा नयाँ प्रजातिको ओमिक्रोन भेरियन्टको त्रास बढेको छ । गत २४ नोभेम्बरमा दक्षिण अफ्रिकामा देखिएको यो भाइरस तीब्र गतिमा फैलिएको छ । हालसम्म ११० भन्दा बढि देशमा यो संक्रमण फैलिएको पुष्टि भएको छ । बेलायत, अमेरिका, जर्मनी, दक्षिण अफ्रिकामा ओमीक्रोनले आतंक नै मच्चाएको छ, भने भारतमा पनि ओमिक्रोनका संक्रमितको संख्या ९६१ पुगेको छ ।

बढ्दो संक्रमणदरलाई मध्यनजर गर्दै भारतको राजधानी नयाँ दिल्लीमा सार्वजनिक गतिविधिमा प्रतिबन्ध लगाइएको छ । नेपालमा पनि ओमीक्रोन भाइरबाट अछुतो छैन । यसै क्रममा विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले कोरोनाको डेल्टा र ओमिक्रोन भेरियन्टको मिश्रणले डरलाग्दो सुनामी ल्याउन सक्ने चेतावनी दिएको छ ।

यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि दक्षिण अफ्रिकामा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमीक्रोन नेपालमा पनि भेटिएकोले चिन्तित भएको बताएको छ । यो भाइरस एउटा व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने धेरै सम्भावना रहेकोले सतर्कता अपनाउन आग्रह गरेको छ ।

ओमिक्रोन भाइरसको संक्रमण र मृत्युदर दुवै बढी खतरनाक भएकाले उच्च सतर्कता अपनाउन विज्ञहरुको सुझाव छ । कतिपय मुलुकले संकटकाल नै जारी गरिसकेका छन् । त्यसकारण सरकारले तुरुन्तै सीमा नाकामा कडाई गर्नुपर्नेमा विज्ञहरुको जोड छ । भारतमा ओमिक्रोन संक्रमण फैलिँदा त्यसको प्रत्यक्ष असर नेपाललाई पर्ने गरेको छ । नेपालसँग भारतको सीमा जोडिएकोले यो भाइरसले भयावह नहोला भन्न पनि सकिन्न । त्यसैले सरकारले सकेसम्म डेल्टा भेरियन्ट जस्तो फैलिन नदिन आवश्यक तयारी गर्न जरुरी छ ।