राजनीति

भारत भ्रमणमा सीमा विवाद, चुच्चे नक्सा र इपीजीबारे छलफल गर्न देउवालाई दबाब


काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवा भारत सरकारको निमन्त्रणामा पुषको अन्तिम साता छिमेकी मुलुक भारत भ्रमणमा जाँदैछन् । नेपालले चुच्चे नक्सा सार्वजनिक गरे पश्चातको पहिलो पटक हुन लागेको उच्चस्तरीय भ्रमण भएकाले प्रधानमन्त्री देउवाको भारत भ्रमणलाई चासोपूर्वक हेरिएको छ । लामो समयपछिको दुईपक्षीय उच्चस्तरीय भेटवार्तामा नेपालले सीमा विवाद प्राथमिकता साथ प्रस्तुत गर्न सक्ला ?

नेपालले कालापानी, लिपुलेक लिम्पियाधुरा क्षेत्र समेट्दै नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेसँगै चिसिएको नेपाल–भारत सम्बन्ध अझै उस्तै छ । सीमा विवाद सुल्झाउन नेपालले पटक पटक वार्ताका लागि पहल गरेपनि भारतीय वेवास्ता कायमै छ । अझ सीमाका सवालमा भारतीय हेलचेक्राईले सीमा नै नाघेको छ । भारतले भर्खरै सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा कालीनदीको नाम नै परिवर्तन गरेको छ । यहि बेला भारत सरकारको निमन्त्रणामा प्रधानमन्त्री शेर बहादुर देउवा भारतको भ्रमणमा जाँदैछन् । आफ्नो पहिलो विदेश भ्रमण स्कटल्याण्डको ग्लास्गोबाट सुरु गरेका देउवा पुसको अन्तिम साता भारत भ्रमणमा जाने तयारीमा छन् । भारतको गुजरातमा हुने भाइब्रेन्ट गुजरात ग्लोबल समिटमा भाग लिन देउवा भारत जान लागेका हुन् । प्रधानमन्त्रीको भ्रमण फलदायी बनाउन सीमा विवादबारे जसरी पनि छलफल प्रस्ताव पठाउनुपर्ने सीमाविद्हरुको आग्रह छ ।

नेपाल भारतबीचको समस्या समधान गर्न विज्ञहरुले तयार पारेको इपिजि प्रतिवेदन भारतले बुझन नमान्दा दराजमा थन्किएको तीन वर्ष भयो । नेपाल भारतबीच २३ जिल्लाका ७१ बढी स्थानमा सीमा समस्या छ । के प्रधानमन्त्री देउवाले इपिजि प्रतिवदेन, सीमा समस्या, चुच्चे नक्सा जस्ता विषय प्राथमिकतामा पर्ला ? पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार समेत रहेको परराष्ट्र मामिलाका जानकार डाक्टर राजन भट्टराई भने अहिलेको सरकारबाट छिमेकी मुलुकसँगको सम्बन्ध सुधारको अपेक्षा गर्न नसकिने बताउँछन ।
बाइट…डा.राजन भट्टराई, परराष्ट्र मामिलाका जानकार
सत्तारुढ दलका नेताहरु राष्ट्रियताको सवालमा आफुहरु अडिग रहेको दावी गर्छन । छिमेकी मुलुकहरुसँगको सम्बन्ध महत्वपूर्ण रहेपनि स्वाधिनता र मुलुकको राष्ट्रियतामाथीको थिचोमिचो आफुहरुलाई सह्य नहुने उनीहरुको दावी छ ।

प्रधानमन्त्री नियुतm भए लगत्तै नयाँदिल्ली पुग्नैपर्ने विगतको परम्परालाई विश्राम लगाएका देउवाको भारत भ्रमण कतिको फलदाय हुन्छ अनुमान लगाउन कठिन छ । तथापी बहुआयामिक सम्बन्ध रहेको नेपाल–भारतबीच सम्बन्ध सुधार गर्दै अगाडि बढ्नुको विकल्प छैन । यसतर्फ दुवै मुलुकको सरकारको ध्यानकर्षण हुन जरुरी छ ।