राजनीति

प्रचण्ड प्रश्नको कठघरामा : टक्कर दिने अर्काे को जन्मिएला ? नारायणकाजी विकल्प होलान् ? (भिडियोसहित)

प्रचण्डको उत्तराधिकारी को ?


काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रचण्डले पार्टीको नेतृत्व गर्न थालेको तीन दशक बढी भइसक्यो। आठौं महाधिवेशनले पनि उनको विकल्प नदिने निश्चित छ । फलत प्रचण्डपछिको विकल्पका विषयमा माओवादी प्रश्नको कठघरामा छ ।

तीन दशक बढी पार्टीको नेतृत्वमा एकछत्रराज गरेका पुष्पकमल दाहाल प्रचण्ड नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनबाट समेत पुनः दोहोरिँदै छन् । प्रचण्डको नेतृत्वमै रहिरहने चाहना र नेतृत्वमा दाबी गर्न सक्ने अर्थमा हेरिएका नेताहरुले नै विकल्प छैन भनेपछि मुल नेतृत्व परिवर्तनको सवाल नै बाँकी रहेन । तर प्रचण्डपछिको नेतृत्व को भन्ने सवालले माओवादीथप प्रश्नहरुको कठघरामा उभिएको छ ।

नेतृत्व हस्तान्तरणको विषय प्रचण्डले प्रस्तुत गरेका दस्तावेजमा समेत कही कतै उल्लेख गरिएको छैन । भन्नालाई माओवादी केन्द्रका नेताहरु प्रचण्डको यो अन्तिम कार्याकाल भन्छन् , तर उनीपछि पार्टी हाँक्ने को भन्ने स्पष्ट चित्र देखिएको छैन । न त्यो खाले हैसियत राख्ने नेताहरु नै तयार भएका छन्, न प्रचण्डले आफ्नो उत्तराधिकारीका रुपमा कसैलाई विश्वास गर्ने अवस्थामा छ ।

पार्टीभित्र दोस्रो वरियतामा रहेका नारायणकाजी श्रेष्ठप्रचण्डसँग थुप्रै मतभिन्नता राख्दै आए पनि अहिले नै भिडेर सिंङ खुस्काउन चाहँदैनन् ।त्यसैले आकंक्षा भएर पनि उनले अध्यक्षमा दाबी गरेनन् । बरु वरिष्ठ उपाध्यक्ष पदमा दाबी गरिरहेका छन् । तर यहाँ कृष्णबहादुर महरा बाधक बन्न सक्छन् ।यौन प्रकरणमा मुछिएपछि पार्टीमा निस्क्रिय रहेका महरा अदालतले सफाइ दिएपछि सक्रिय छन् । लगत्तै श्रेष्ठलाई प्रवक्ताबाट हटाएर महरालाई ल्याउनुले पनि केही संकेत गरिरहेको छ ।तथापी यी दुबैलाई आगामी नेतृत्वका लागि नेता–कार्यकर्ता तहले पत्याउन मूस्किल छ ।

उता यो महाधिवेशनमा महासचिव दाबी गरिरहेका जनार्दन शर्मा र बर्षमान पुनले आगामी नेतृत्वका रुपमा आफुलाई तयार पारिरहेका छन् । नेताहरु प्रचण्डले आफ्नै नेतृत्वमा पार्टीलाई रुपान्तरण गर्दै हस्तान्तरण गर्नुपर्ने बताउँछन् । तर व्यक्ति सफल भएपनि तीन दशकसम्मपार्टीको नेतृत्व गर्दा कुनै खाले रुपान्तरण नगरेका प्रचण्डका लागि पार्टीलाई नयाँ ढंगले उठाउन सजिलो देखिदैन ।