राजनीति

माओवादी महाधिवेशन : बन्दसत्रमा समूहगत सुझाव पेश गर्ने क्रम सुरु


काठमाडौँ – नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गत जारी तेस्रो दिनको बन्दसत्रमा समूहगत सुझाव पेश गर्ने क्रम सुरु भएको छ । कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनको बन्दसत्रमा समूहगत प्रस्तुति लिखित रुपमा राख्न निर्देशन जारी गरिएको छ ।

त्यस्तै राजनीतिक प्रतिवेदन र विधान संशोधनभन्दा बाहिर गएर प्रस्तुति नगर्न पनि निर्देशन दिइएको छ । समूहका नेतालाई आफ्नो प्रस्तुति १५ मिनेटभित्र सक्न समय तय गरिएको छ । माओवादीको विधान मस्यौदामा पार्टीको केन्द्रीय कमिटीका २९९ सदस्यीय रहने प्रस्ताव गरिएको छ ।

पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष छ जना, महासचिव, उपमहासचिव दुईजना, सचिव तीन जना र कोषाध्यक्ष गरी १५ सदस्यीय पदाधिकारी रहने व्यवस्था प्रस्तावित गरिएको छ ।