राजनीति

प्रचण्डले पेश गरेको प्रतिवेदनमाथिको छलफल सकियो


काठमाडौँ – नेकपा माओवादी केन्द्रको जारी आठौँ महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि प्रतिनिधिहरूलाई छलफल गर्न छुट्याइएको समय सकिएको छ । आइतबारबाट सुरु भएको महाधिवेशनमा मंगलबार झण्डै १७ सय प्रतिनिधिहरुलाई समूहगत रुपमा छलफल गर्न समय तोकिएको थियो ।

तर मंगलबारका लागि छुट्याएको समयमा केही समूहले छलफल नसकेपछि बुधबार दिउँसो १२ बजे सम्मलाई समय थप गरिएको थियो । महाधिवेशन प्रतिनिधिहरूलाई प्रचण्डको प्रतिवेदनमाथि छलफल गर्न २५ वटा समुह बनाइएको थियो । उक्त समूहमा प्रतिवेदनमाथि राखेका सुझावलाई संकलन गरेर समूहका नेताले बन्द सत्रमा पेश गर्नेछन् ।

त्यसका लागि प्रत्येक टोली नेतालाई १५ मिनेटको समय तय भएको छ । बुधबार १ बजेदेखि समुहका नेताले आएका सुझावलाई समेटेर बन्दसत्र स्थल प्रज्ञा भवनको हलमा सुझाव पेश गर्नेछन् । उनीहरुको सुझावलाई समेत समेटेर अध्यक्ष प्रचण्डले पुन दस्तावेजलाई पूर्णता दिनेछन् । प्रचण्डको दस्तावेजसँगै नेता देव गुरुङले पेश गरेको विधान संशोधन समेत पारित गरेपछि नेकपा माओवादीले नयाँ केन्द्रीय समितिको नाम घोषणा गर्नेछ ।