खेलकुद

‘खेलाडीहरूको कति शोषण गर्छौ एन्फा ?’


काठमाडौँ – नेपाली फुटबलको सबैभन्दा ठूलो निकाय अखिल नेपाल फुटबल संघ (एन्फा)ले खेलाडीहरुको शोषण गरेको एन्फा पूर्वाध्यक्ष गणेश थापाले बताएका छन् । एन्फाले खेलाडीहरुलाई दिने भनेर घोषणा गरेका कयौँ त्यस्ता पुरस्कार हालसम्म पनि उपलब्ध नगराएको भन्दै थापाले एन्फाको आलोचना गरेका हुन् ।

थापाले खेलाडीहरुले आफ्नै खर्चमा उपचारका लागि विदेश जानु पर्ने अवस्थाको सिर्जना हुनु र एन्फाले कागजातको प्रक्रियामा मात्र सहयोग गर्नु एन्फाको गैर जिम्मेवारी कार्य रहेको उनको बुझाई छ । खेलाडी रेजिन सुब्बाको विषयलाई उठान गर्दै थापाले आफ्नो सामाजिक सञ्जाल फेशबुकमा लेखेका छन् ; ‘आफ्नै पैसाले खेलाडी उपचार गर्न विदेश जान्छन् एन्फाले भिसा लिनको निमित्त सहयोग गरेको रे।’ उनले घुमाउरो ढंगले एन्फाको यस्तो कार्य लाचारीपनको पराकाष्ठा भएको उल्लेख गरेका छन् ।

साथै,खेलाडीहरु आफूलाई अन्यायमा परेको र एन्फाविरुद्ध आवाज उठाउदा कारबाहीमा पर्ने डरले मौन रहेको कुराको पनि थापाले खुलासा गरेका छन् । ‘बोल्दा कारबाहीमा परिन्छ कि भन्ने डरले बोल्न नसकेका खेलाडीहरूको आवाज हो।’ उनले फेशबुकमा उल्लेख गरेका छन् ।

मछिन्द्र फुटबल क्लबका फरवार्ड रेजिन सुब्बा उपचारका लागि व्यक्तिगत खर्चमा कतार पुगेका छन् । सुब्बाको दायाँ कुर्कुच्चाको चोट पूर्ण रुपमा ठीक नभएपछि उनी उपचारका लागि कतारस्थित विश्वप्रसिद्ध अस्पेटार अस्पताल पुगेका हुन् ।