राजनीति

सीके राउतको तराईंमा उग्र रुप : तोडफोड र रुवाबासी, खासमा केहो किसान आन्दोलन ?


काठमाडौँ — सीके राउत नेतृत्वको जनमत पार्टीले तराईँका जिल्लामा किसान आन्दोलन चर्काएको छ । आमहड्ताल र चक्काजामले राजमार्ग नै ठप्प पारेपछि प्रशासनले आज निषेधज्ञा जारी गरेको थियो । तर निषेधाज्ञालाई तोड्दै आन्दोलनकारीले थप उपद्रो मच्चाएका छन् ।

किसान पक्राउका नाममा सीके राउत नेतृत्वको जनमत पार्टीले दिनभर आमहड्ताल र चक्काजाम चर्काएपछि मंगलबार पनि तराईँ अशान्त बन्यो । पूर्व–पश्चिम राजमार्गका थुप्रै स्थानमा निषेधाज्ञालाई तोड्दै चक्काजाम र नाराबाजी गरेको जनमत पार्टीले सडकमा टायर बाल्यो ।लाठी बोकेर निस्किएका प्रदर्शनकारी र हस्तक्षेपमा निस्किएको प्रहरीबीच झडप नै भयो । सिरहाको मिर्चैया र गोलबजारलाई केन्द्र बनाएर जनमत पार्टीले विरोधका नाममा आइतबारदेखि उप्रदो नै मच्चाएको छ ।सोमबार १६ वटा सवारी साधन तोडफोड र एक ट्रकमा आगजनी गरेका थियो ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्याँस प्रहार गरेको छ भने, सिरहाका ६ राजनीतिक दलले विज्ञप्ति जारी गर्दै पक्राउ गरेकाहरुलाई रिहाई, बन्द हड्ताल फिर्ता तथा प्रशासनद्वारा लगाइएको निषेधज्ञा फिर्तालिई शान्तिपूर्ण रुपमा निकास खोजी जनजीवन सहज बनाउन माग गरेका छन् । तर जनमत पार्टी र प्रशासन मुडभेड रोकिएको छैन । जसले सर्वसाधारण जनता मारमा परेका छन् । यो विषयमा पार्टीका अध्यक्ष सीके राउतले किसानका मुद्दा सम्बोधन गर्न यो भन्दा अर्काे विकल्प नरहेको भन्दै आन्दोलन थप चर्किने बताउँछन् ।
आखिर कसरी भयो आन्दोलनको सुरुआत ?

सिरहाको औरही गाउँपालिकाले किसानलाई नै वितरण गर्ने गहुँको बीउ गोदाममा राखेको थियो ।किसानका लागि ६ सय ५० बोरा बीउ खरिद गरिएकोमा पुस ५ गते ४० किलोको दरले ३ सय २५ बोरा वितरण गरियो ।तर बाँकी रहेको ३ सय २५ बोरा बीउ वितरणमा ढीला गरेको र रातीको समयमा गाउँपालिका अध्यक्षले आफन्तीलाई वितरण गरेको भन्दै पुस ६ गते वितरण गर्न तयार गरिएको वीउमा किसानहरुले लुटपाट मच्चिएको थिए । गाउँपालिकासमेत तोडफोड गरेपछि स्थानीय चार जनालाई आपराधिक उपद्रोको मुद्दामा प्रहरीले पक्राउ ग¥यो । जसकै विरोधमा सिरहाबाट सुरु भएको आन्दोलन अहिले अन्य जिल्लामा समेत फैलिएको छ ।

तराईँ आन्दोलनलाई जग बनाएका उपेन्द्र यादवको जसपा, महन्थ ठाकुर र राजेन्द्र महतोको लोसपा मधेश आन्दोलनबाटै राष्ट्रिय राजनीतिमा उठेका हुन् । तराईँलाई केन्द्रीत बनाएर उदाएको सीके राउत नेतृत्वको जनमत पार्टी पनि तराईँमै आन्दोलन चर्काएर राष्ट्रिय राजनीतिमा पकड जमाउन खोजिरहेको छ । यसकै नाममा जनकारबाही भन्दै पछिल्लो समय यस्ता गतिविधिलाई जनमत पार्टीले प्रशय दिइरहेको छ ।